काठमाडौं । मोटरसाइकल बजारमा नयाँ खेलाडी थपिएको छ । १५० सीसी सेग्मेन्टमा हिरोले नयाँ मोटरसाइकल एक्स्ट्रीम १६० आर ल्याएको हो ।
पछिल्लो समय हिरोलाई नेपाली बजारमा टिकाइ राख्न मद्धत गरेको हिरो एक्सपल्स २०० को सफलतापछि कम्पनीले लामो अध्ययन अनुसन्धान गरेर हिरो एक्स्ट्रीम १६० आर बजारमा उतारेको हो ।
यो सेग्मेन्टमा यसअघि बजाज एनएस १६०, यामाहा आर १५ भी ३, एफजेडएस भी ३, टीभीएस आरटीआर १६० फोर भी, सीएफमोटो एनके १५० जस्ता मोटरसाइकल उपलब्ध रहेका छन् ।
यी मोटरसाइकल मध्ये पावर र डिजाइनका आधारमा हिरो एक्स्ट्रीम १६० आरको प्रतिस्पार्धा बजाज एनएस १६० र आरटीआर १६० फोर भी ४ सँग हुने देखिएको छ ।
यी तीन मोटरसाइकल मुख्यत पावर र डिजाइनका कारण चर्चामा रहने छन् । यी तीनै मोटरसाइकलमा फिचरसमेत समान रहेका छन् । यी तीन मोटरसाइकलको समानाता तथा भिन्नता यहाँ विस्तृतमा प्रस्तुत गरिएको छ ।
इन्जिन
यी तीन वटै मोटरसाइकलमा समान १६० सीसी क्षमताको इन्जिन रहेको छ । तर, हिरो एक्स्ट्रीम १६० आरमा मात्रै एफआई इन्जिन उपलब्ध रहेको छ । आरटीआर १६० फोर भी र पल्सर एनएस १६० मा कार्वुरेटर इन्जिन पाउन सकिन्छ । त्यस्तै हिरोले एयर कुल्ड इन्जिन दिएको छ भने टीभीएस र बजाजले आयल कुल्ड इन्जिन दिएका छन् ।

इन्जिनकै कुरा गर्दा हिरो एक्स्ट्रीम १६० आरमा बीएस ६ मापदण्डको इन्जिन रहेको छ भने अन्य दुई मोडललमा बीएस ४ मापदण्डको इन्जिन छ । यी तीन मध्ये आरटीआर १६० फोर भी सबैभन्दा पावरफुल रहेको छ ।
आरटीआर १६० फोर भीले ८००० आरपीएममा अधिकतम १६.४ पीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै बजाज पल्सर एनएस १६० ले ८५०० आरपीएममा अधिकतम १५.५ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरि हिरो एक्स्ट्रीम १६० आरले ८५०० आरपीएममा १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यी तीनै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ ।
डाइमेन्सन
हिरो एक्स्ट्रीम १६० आरको लम्वाई २०२९ एमएम, चौडाई ७९३ एमएम, उचाई १०५२ एमएम, ह्वीलवेस १३२७ एमएम र ग्राउन्ड क्लियरेन्स १६७ एमएम रहेको छ ।

त्यसैगरि बजाज पल्सर एनएस १६० को लम्वाई २०१७ एमएम, चौडाई ८०३ एमएम, उचाई १०६० एमएम, ह्वीलवेस १३७२ एमएम र ग्राउन्ड क्लियरेन्स १७७ एमएम रहेको छ । साथै, अपाचे आरटीआर १६० फोर भीको लम्वाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ह्वीलवेस १३५७ एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
इन्धन
यी तीनै मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ । कम्पनीका अनुसार हिरोले ५५ किलोमिटर, बजाजले ४५ किलोमिटर र टीभीएसले ३० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।
सस्पेन्सन/ब्रेक
यी तीनै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ भने हिरो र बजाजले एन्टी फ्रिक्सन बस दिएको छ । त्यस्तै तीनै मोटरसाइकलको रियरमा मोनोशक सस्पेन्सन रहेको छ । हिरोमा भने एड्जष्टेबल मोनोशक रहेको छ ।

हिरो, बजाज र टीभीएस तीनै मोटरसाइकलको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइएको छ । यी तीनै मोटरसाइकलमा सिंगल च्यानल एबीएस फिचर उपलब्ध रहेको छ ।
अन्य फिचर/मूल्य
हिरो र टीभीएसले स्मार्ट कनेक्ट फिचर भएको पुर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ भने बजाजमा सेमि डिजिटल कन्सोल रहेको छ । यी तीनै मोटरसाइकल एलइडी लाइटको प्रयोग गरिएको छ ।
नेकेड डिजाइनका यी तीन वटै मोटरसाइकल मध्ये बजाज र टीभीएसको मूल्यसमान जस्तै रहेको छ भने हिरो एक्स्ट्रीम १६० आरको मूल्य केहि धेरै देखिएको छ ।
हिरो केही दिन अघिमात्र नेपाली बजारमा विक्री सुरु गरेको एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ३९ हजार ५०० रुपैयाँ, बजाज एनएसको ३ लाख २ हजार ९०० रुपैयाँ र आरटीआर १६० फोर भीको एबीएस भर्सनको मूल्य ३ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ ।

