काठमाडौं । निसान म्याग्नाइट बजारमा आएसँगै यसले यो सेग्मेन्टमा रहेका ब्रेजा, भेन्यू, नेक्सन, एक्सयूभी ३००, इकोस्पोर्ट जस्ता नेपाली बजारमा सफल मानिएको सब फोर मिटर एसयूभीको बजार हिस्सा यसले खोस्ने अनुमान गरिएको थियो । तर, अनुमानभन्दा फरक नतिजा यसको विक्रीले देखाउन सुरु गरेको विष्लेषण हुन थालेको छ ।
यसो हुनुमा बजारमा अहिले उपलब्ध ह्याचव्याक कार हुन्डाई नियोस, फक्सवागन पोलो, मारुती सुजुकी स्वीफ्ट र इग्नीस जस्ता मोडलको मूल्यमा निसान म्याग्नाइट पाउनु रहेको छ । माथि उल्लेख गरिएका ह्याचव्याक कारहरुको मूल्य र निसान म्याग्नाइटको मूल्य लगभग उस्तै रहनु हो । तर, नेचुरल एस्पायर्ड इन्जिनलाई मात्रै तुलना गर्ने हो भने म्याग्नाइटमा सानो इन्जिन रहेको छ ।

‘बिग, बोल्ड र व्यूटीफुल’ नारासहित बजारमा आएको म्याग्नाइट आफैँमा सब फोर मिटर एसयूभी भएपनि इन्जिन क्षमता र मूल्यको आधारमा बजारमा ह्याचव्याक कारसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।
काठमाडौं किर्तिपुरका भुवन पुडासैनी भन्छन्, ‘ह्याचव्याक कार किन्नपनि ३३ लाखरुपैयाँसम्म खर्च गर्नु पर्ने अवस्था रहेछ । यस्तोमा मैले सब फोर मिटर एसयूभी किन्ने निर्णय गरेको छु ।’
भुवनलाई हामीले यसको इन्जिनको विषयमा कुरा राख्दा उनले प्रयोग गर्ने क्षेत्र हेरेर गाडी किन्नु पर्ने बताए । मलाई घर र अफिस गर्न १ हजार सीसीको इन्जिन काफि हुन्छ । कम पैसामा ठूलो गाडी पाएकै छौ, त्यसले आफ्नो अवश्यकता पुरा गर्छ । आफ्नो ह्याचव्याक किन्ने योजना रहेको सुनाउँदै उनले भने, ‘त्यहि मूल्यमा म्याग्नाइट पाएकोले किन्ने निर्णय गरेँ ।’

भुवनको भन्दा फरक तर्क गर्छन् काठमाडौं रानीवारीका कुमार बस्नेत । बस्नेतलाई पनि म्याग्नाइट मनपरेको छ । तर, उनि तत्काल जोखिम मोल्ने सुरुमा छैनन् । बस्नेत भन्छन्, ‘गाडी हेर्दा राम्रो देखिन्छ, तर १ हजार सीसीको इन्जिनले कस्तो पर्फमेन्स दिन्छ नहेरी किन्नु हुँदैन । केहि दिन हेरौँ साथीहरुले लिएका छन्, त्यसको रिजल्ट हेरेर म निर्णय गर्छु ।’ माथिका दुई जना प्रतिनिधि पात्र मात्र हुन् । यस्ता जिज्ञासा धेरैको मनमा उब्जेको छ ।
मूल्य
निसान म्याग्नाइटलाई ३५ लाखसम्म खर्च गरेर किन्न चाहने ग्राहकले ४ भेरियन्ट मध्ये आफुलाई मनपरेको भेरियन्ट खरिद गर्न सक्ने छन् । कम्पनीले एक्सई भेरियन्टको मूल्य २९ लाख ४९ हजार, एक्सएल मिड भेरियन्टको ३१ लाख ९९ हजार, एक्सभी अपर मोनोको ३४ लाख ९९ हजार र एक्सभी अपर ड्यूलको ३५ लाख २९ हजार मूल्य तोकेर विक्री गर्दै आएको छ ।

हुन्डाईले ग्राण्ड आई १० नियोसको विभिन्न ३ भेरियन्ट विक्री गर्दै आएको छ । कम्पनीले मग्ना भेरियन्टको ३१ लाख ५६ हजार, मग्ना एएमटीको ३४ लाख ५६ हजार र स्पोट्ज भेरियन्टको ३४ लाख ५६ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।
सुजुकी स्वीफ्ट नियोसभन्दा पनि महंगो रहेको छ । स्वीफ्टको भिएक्सआई भेरियन्टको ३० लाख ९९ हजार, जेडएक्सआई भेरियन्टको ३३ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
निष्कर्ष
म्याग्नाइटमा इन्जिन ह्याचव्याकको भन्दा सानो र मूल्यपनि ह्याचव्याक भन्दा सस्तो रहेको छ । त्यसैले ह्याचव्याक कार किलरको रुपमा म्याग्नाइटले आफुलाई स्थापित गर्दै लान सक्छ वा सक्दैन त्यो भने हेर्न बाँकी नै रहेको छ ।


