काठमाडौं । अप्रिलियाले नयाँ स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले एसएक्सआर १२५ सीसी क्षमतामा ल्याउन लागेको हो । कम्पनीले केहि महिनाअघि एसएक्सआर १६० बजारमा ल्याएको थियो ।
अप्रिलिया एसएक्सआर १६० अहिले नेपाली बजारमा पनि विक्री वितरण सुरु भइसकेको छ । थुप्रै कनेक्ट फिचर र म्याक्सी डिजाइनमा आएको एसएक्सआर १६० नेपालमा धेरैको ध्यान खिच्न सफल हुँदै आएको छ ।
अप्रिलियाले भारतीय बजारलाई ध्यानमा राखेर एसएक्सआर १२५ बजारमा ल्याउन लागेको हो । कम्पनीले यसको प्रि-बुकिङसमेत खुल्ला गरिसकेको छ । ५ हजार भारतीय रुपैयाँमा कम्पनीले यसको बुकिङ गर्न सक्ने जनाइएको छ ।
भारतमा विक्री सुरु भएको केहि महिना भित्रै यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
यसमा रहेको १२५ सीसी सिंगल सिलिण्डर, थ्रि भल्भ एफआई इन्जिनले ९.४ बीएच पावर र ८.२ एनएम पिक टर्क प्रदान गर्छ । १२ इन्चको अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर यसमा उपलब्ध हुने छन् ।
यसको मूल्यको विषयमा अहिले कुनै कुरा बाहिर आएको छैन । यद्यपी एसएक्सआर १६० को तुलनामा भने सस्तो हुने छ । नेपालमा एसएक्सआर १६० को मूल्य ४ लाख १० हजार रुपैयाँ रहेको छ ।

