भन्सारको गम्भीर त्रुटीको कारण टेस्लाका गाडी कर छल्न सफल

काठमाडौं । भन्सार कार्यालयले आर्थिक ऐनमा उल्लेख भएको विषयलाई ध्यान नदिदा टेस्लाका गाडी कम कर तिरेर छुटेका छन् । टेस्लाको आयातकर्ता कम्पनी अरेटी इन्टरनेशनलले बैशाख ६ र ७ गते भन्सार छुटाएको ७ यूनिट टेस्ला मोडल थ्रिमा जडान भएको मोटरको ‘रेटेड पावर’लाई आधार मानेर अन्तःशुल्क निर्धारण हुँदा एउटा गाडीमा करिब २८ लाख ९३ हजार कर छलि भएको हो ।

आर्थिक ऐनमा इलेक्ट्रीक गाडीको पीक पावरलाई आधार मानेर अन्तःशुल्क लगाउने व्यवस्था गरिएको छ । तर, आयातकर्ता कम्पनीले टेस्ला मोडल थ्रिको पीक पावरलाई उल्लेख नगरि रेटेड पावरलाई उल्लेख गरेर गाडी छुटाएको हो । पीक पावरको तुलनामा रेटेड पावार सबै इलेक्ट्रीक गाडीमा कम हुन्छ । टेस्ला मोडल थ्रिको रेटेड पावर १४७ किलोवाट रहेको छ भने पीक पावर २११ किलोवाट रहेको छ । आर्थिक ऐन अनुसार कर लाग्नु पर्ने पीक पावरमा हो ।

विरगंजको सिर्सिया भन्सार कार्यालयले टेस्ला मोडल थ्रिको प्रज्ञापनपत्रमा यातायात व्यवस्था विभागको मिति २०७७-८-३० गतेको निर्णय अनुसार यी गाडीमा १४७ किलोवाट क्षमताको मोटर रहेको पत्रको आधारमा गाडी छुटाइएको उल्लेख गरेको छ । तर, यातायात व्यवस्था विभागले लेखेको पत्रमा प्रस्टसँग यसमा १४७ किलोवाट क्षमताको रेटेड पावर भएको मोटर जडान भएको उल्लेख गरेको छ ।

यातायात विभागले रेटेड पावर उल्लेख गरेपछि भन्सारले यसलाई आर्थिक ऐनले चिन्छ वा चिन्दैन भन्ने विषयमा ध्यान दिनु पर्नेमा त्यसैलाई आधार मानेर गाडी छुटाएको देखिन्छ ।

यस्तो छ यातायातले लेखेको पत्र

‘हामीले यातायात व्यवस्था विभागको पत्रको आधारमा गाडी छुटाएका हौं, यसमा कस्तो पावर भएको मोटर छ भन्ने एकिन गर्ने यातायात विभागले नै हो’, सिर्सिया भन्सार कार्यालयका सूचना अधिकारी चुणामणी कट्टेलले मेरोअटोसँग भने ।

यातायात व्यवस्था विभागका अनुसार आयातकर्ताले रेटेड पावर उल्लेख गरेर ल्याएकाले यसको रोड वर्दिनेस टेष्टपछि आफुहरुले यसको रेटेड पावर प्रमाणित गरेको जनाएको छ । यातायात विभागका अनुसार भन्सारले थप प्रस्ट हुन आफुहरुलाई यसको पीक पावर कति हो भन्ने विषय भन्सार कार्यालयले नसोधेको जनाएको छ ।

भन्सार विभागले भने यसमा केहि समस्या भए यसको पुनराअवलोकन गर्न सकिने जनाएको छ ।

‘विद्युतीय सवारी साधनको टेक्नीकल पाटो नयाँ विषय हो । यसमा कहिँ तलमाथी भएको रहेछ भने त्यसलाई सच्याउने प्रसस्त ठाँउ छ । हामी यसमा थप अनुसन्धान गर्छौ’, विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने ।

याे पनि पढ्नुहाेस् : आयातकर्ताको बदमासीले टेस्लाको एउटै कारमा २९ लाख राजस्व गुम्यो, भन्सारको लापारबाही


Back_to_top