काठमाडौं । पछिल्लो समय मोटरसाइकलको मूल्य दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । यस्तोमा नेपाली सबै किसिमको बाटोको लागि उपयुक्त बजाज पल्सर २२० एफको मूल्यपनि बढ्दै गएको छ ।
नेपालको लागि बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केहि दिन अघिमात्र आफ्ना सबै मोटरसाइकलको मूल्य वृद्धि गरेको थियो । नेपाली ग्राहक माझ बजाजका मोटरसाइकल सस्तो स्टाइलिस र टिकाउ हुने मोटरसाइकलको रुपमा परिचित ब्रान्ड रहेको पाइन्छ ।
बजाजका मोटरसाइकल १ लाख ८५ हजार ९०० रुपैयाँदेखि ५ लाख ७८ हजार ९०० रुपैयाँसम्ममा नेपालमा विक्री हुँदै आएका छन् ।
बजाज पल्सर २२० एफ नेपाली बजारमा निकै सफल रहँदै आएको छ । कम्पनीले यो मोटरसाइकलको मूल्य हाल ३ लाख ५० हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।
१८ महिना अगाडि यो मोटरसाइकलको मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ रहेको थियो । त्यसमा एबीएस फिचर थप भएसँगै मूल्य बढेको पल्सर २२० को नन्एबीएस भर्सनको विक्री बन्द नै भयो । कम्पनीले एबीएससहितको बजाज पल्सर २२० एफको मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको थियो भने यस पश्चात १८ हजार रुपैयाँ मूल्य वृद्धि भइसकेको छ ।
यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । पल्सर २२० एफ मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ ।
सीट हाइट ७९५ एमएम रहेको पल्सर २२० को कुल तौल १५५ किलोग्राम रहेको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको यो मोटरसाइकल अहिले पनि ‘भ्यालु फर मनी’को रुपमा परिचित रहेको छ ।

