काठमाडौं । वुलिङ ब्राण्डको ‘एक्सियन ईभी’ नेपाल आएको छ । नेपालको लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसलाई बजारमा उतार्न लागेको हो ।
कम्पनीले एक्सियन ईभी साउन २६ गतेदेखि सुरू हुने नाइमा मोबिलिटी एक्स्पोमा लन्च गर्ने भएको हो । वुलिङ एक्सियन एसयूभी साइजको हिसाबले निकै ठूलो लाग्छ । यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७५५ एमएम छ । यसमा २८१० एमएम लामो ह्वीलबेस भएको कारण क्याबिन निकै आरामदायी र फराकिलो पाउन सकिन्छ । वुलिङ एक्सियन ७ जनाले यात्रा गर्न मिल्ने एसयूभी हो ।
एक्सियन एसयूभीमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । साथै, गाडीमा १५० किलोवाट क्षमताको पावरफुल मोटर पाउन सकिन्छ । उक्त मोटरले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ ।
वुलिङले यसमा भेन्टिलेटेड सिट, पानारोमिक सनरुफ, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको सेन्टर स्क्रीन, चालकको लागि ६ तरिकाले मिलाउन मिल्ने सिट दिएको छ ।

लेभल २ एडास फिचर उपलब्ध एक्सियन एसयूभीमा सुरक्षाको लागि एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, ट्राफिक वार्निङ फिचरसहित एडास भित्र पर्ने क्रुज कन्ट्रोलदेखि ३६० डिग्री क्यामेरासम्मका फिचर पाउन सकिन्छ ।
वुलिङले एक्सियन ईभीमा ६ स्पीकर, ५० वाटको वायरलेस चार्जर, एप्पल कार प्ले र एन्ड्रोइड अटो, भ्वाइस कन्ट्रोल जस्ता सुविधा प्रदान गरेको छ ।
गाडीको बाहिरी डिजाइन पनि राम्रो देखिएको छ । पृथक किसिमको फ्रन्ट ग्रिल, आकर्षक एलईडी हेडल्याम्प हाउजिङ, १८ इन्चको मल्टी स्पोक ह्वील र पर्पर एसयूभी लुक यसको बलियो पक्ष हो ।


