काठमाडौं । भारतीय इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी रेभोल्टले आफ्नो डिलर नेटवर्क विस्तारमा एक अर्व ५० कारोड भारु खर्च गर्ने भएको छ । कम्पनीले भारतमा र अन्तर्राष्ट्रिय बजारमा डिलर नेटवर्क विस्तार गर्न उक्त रकम खर्च गर्ने भएको हो ।
रेभोल्ट इन्टेलीकर्प प्रालिले दक्षिण एसियाली बजारमा आफ्नो उत्पादनको पहुँच र विस्तारमा लगानी गर्ने घोषणा गरेसँगै यसलाई नेपाल ल्याउन विभिन्न व्यवसायीक घरानाले चासो देखाएको बुझिएको छ ।

विशेषत स्मार्ट, क्लीन र वातावरणमैत्री मोटरसाइकल उत्पादनमा जोड दिदै आएको कम्पनीले अहिले आरभी ३०० र आरभी ४०० गरि दुई मोडलका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
आफ्नो नेटवर्क विस्तारको योजना सुनाउँदै कम्पनीका संस्थापक राहुल शर्माले भने, ‘हामी भारतको ३५ सहर र दक्षिण एसियाका अन्य देशमा नेटवर्क विस्तारमा काम गरिरहेका छौं । हाम्रो प्राथमिकता सुरक्षित इलेक्ट्रीक सवारी साधन ग्राहकमाझ पुर्याउनु हो । भारत बाहिर हामी ६ देशमा नेटवर्क विस्तार गर्छौ ।’
कम्पनीले उत्पादन गरेको रेभोल्ट ४०० ले एक पटकको फुलचार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्छ । यसमा ३.२ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई एक पटक फुलचार्ज गर्न ४ घन्टा ३० मिनेट लाग्ने छ । यसको उच्चगति क्षमता भने ८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

