काठमाडौं । तपाईंलाई लाग्ला संसारमा कुनै पनि कुरा पर्फेक्ट हुँदैन, तर यदि तपाईंले स्कोडाले उत्पादन गरेका कारहरु चढ्नुभयो भने तपाईंको यो विचार परिवर्तन हुन सक्छ । स्कोडाको एक सय २५ वर्ष लामो इतिहासले यसलाई पुष्टि गरेको छ ।
संसारकै पुराना अटो ब्रान्ड मध्ये पर्ने स्कोडाले विश्वमा आएका ठूला आर्थिक मन्दीदेखि विश्व युद्धहरुको सामना गरेको थियो । भनिन्छ नि ‘रोम वाज नट बिल्ट इन अ डे’ । हो, यहिँ भनाई स्कोडामा पनि लागू हुन्छ ।

सन् १८९५ । त्यतिवेला अटोमोबाइल संसारमा पहिलो पटक सुरु भएको थियो । मानिसहरुले यातायातको नयाँ माध्यमलाई मन पराउन थालेका थिए । त्यहि बेला मध्य युरोपको म्लाडा बोलेस्लाभका बाक्लाभ क्लोमेन्ट र बाक्लाभ लरिनले एउटा कम्पनी स्थापना गरे, ‘लरिन एन्ड क्लेमेन्ट’ । दुई कामदार र एक सिकारुबाट सुरु भएको यो कम्पनीले आफ्नो पहिलो साइकल बनायो, ‘स्लाभिया’ ।
यो साइकल बजारमा तत्काल हिट सावित भयो । यसको विश्वसनीयता, उपयोगिता र गुणस्तरका कारण यो निकै रुचाइयो । बजारमा यसको माग बढ्यो र लरिन एन्ड क्लेमेन्टको पहिलो कारखाना अस्तित्वमा आयो ।

चाँडै नै एउटा सानो साइकल कारखानामा ४० जना कामदार भए । ‘स्लाभिया’ को सफलताले सुखद सुरुआतबाट प्रभावित लरिन एन्ड क्लेमेन्टले अक्जिलरी मोटर जोडिएको पहिलो साइकल सन् १८९९ मा निर्माण गर्यो जसलाई ‘मोटरसाइकल’ भन्न थालियो ।
एल एन्ड के भोच्युरेट ए कम्पनीले उत्पादन गरेको पहिलो चार पाङ्ग्रे सवारी साधन हो । यसमा ७.१ एचपी पावर उत्पादन गर्ने वाटर-कुल्ड टु-सिलिन्डर इन्जिन दिइएको थियो । दुई जना बस्न मिल्ने यो गाडीको अगाडि इन्जिन र रेडियटर थियो जुन त्यो बेलाको चर्चित डिजाइन थियो ।
यो उत्पादनलाई पनि निकै रुचाइयो । तर, यो सफलता स्थानीय बजारमा मात्र सिमित भएन । सन् १९०७ सम्ममा यो कम्पनी अस्ट्रो-हंगेरियन साम्राज्यमा सबैभन्दा ठूलो अटो निर्माता बन्न सफल भयो । एल एन्ड केले अब विश्वभर गाडी निर्यात गर्न थालिसकेको थियो । लरिन एन्ड क्लेमेन्ट अटोबजारको चर्चित ब्रान्डमा स्थापित भइसकेको थियो ।

एल एन्ड के चर्चित ब्रान्ड बनिसकेको थियो तर थप विस्तारका लागि मर्जर आवश्यक थियो । यसबीच स्कोडा देखियो । सन् १९२५ सम्ममा लरिन एन्ड क्लेमेन्ट स्कोडा फ्याक्ट्रिजसँग मर्ज भयो जुन त्यो बेला चेकको सबैभन्दा ठूलो औद्योगिक कम्पनी थियो । अब नयाँ कम्पनीको नाम स्कोडा अटो रह्यो । सुरुमा त उसले उत्पादन गरेको गाडीको नाम ‘लरिन एन्ड क्लेमेन्ट-स्कोडा’ राखियो । तर, पनि ब्रान्ड नेम स्कोडा बन्यो ।
स्कोडाको पखेटाजडित तीर भएको लोगो सन् १९३० मा अस्तित्वमा आएको थियो । यो लोगोले ‘गति र प्रगति’लाई जनाउँछ । त्यसयता, स्कोडा अटो ‘सिम्प्ली क्लेभर’को परिचय बन्यो । यसपछि अटो जगतमा स्कोडा ठूलो नाम बन्यो । यसैबीच, उसले र्यापिड (१९३४), सुपर्ब (१९३४), अक्टाभिया (१९५९) र अन्य आइकनिक कार उत्पादन गर्यो ।

फक्सवागन ग्रुपमा स्कोडा
स्कोडाले मध्य र पूर्वी युरोपमा गज्जब गरिरहेको थियो । तर, उसलाई त्योभन्दा पनि माथिल्लो उचाइमा पुग्नु थियो । सन् १९९१ मा फक्सवागन ग्रुप दृश्यमा देखियो जसले विश्व बजारमा स्कोडालाई बुस्ट गर्यो । यो मर्जरपछि अहिले विश्वका एक सयभन्दा बढी मुलुकमा स्कोडा गुडिरहेको छ । त्यसमध्ये एउटा नेपाल पनि हो । अहिले स्कोडाले वार्षिक साढे १२ लाख गाडी उत्पादन गर्दै आएको छ ।
नेपालमा स्कोडा
चेक ब्रान्ड स्कोडाको इतिहास एक सय २५ वर्ष पुरानो भए पनि आधिकारिक रुपमा स्कोडा सन् २००७ मा आएका थियो । त्यसो त राणा शासनकालमै चेक निर्मित कारहरु नेपाली सडकमा गुडिसकेका थिए । सन् २००२ मा स्कोडा भारतमा भित्रिएपछि नेपालमा पनि स्कोडा कार औपचारिक रुपमा भित्रिन थालेको हो । भारतमा स्कोडाको प्लान्ट चाहिँ सन् २०१३ मा स्थापना भएको थियो । जसले कारको मूल्यलाई उल्लेखनीय रुपमा कम गरायो ।

पहिलो ब्याचमा नेपालमा अक्टाभिया, लाउरा (हाल सुपर्ब) र र्यापिड भित्रिएको थियो । यी प्रिमियम सेडानहरुले केही समयमै नेपाली कारप्रेमीको मन जितेको थियो । पछि आएको ह्याचब्याक फाबिया पनि नेपालमा हिट रह्यो । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लुले अहिले र्यापिड, अक्टाभिया, सुपर्ब, क्यारोक र कोडियाकको विक्री गर्दै आएको छ ।
प्रोजेक्ट ‘इन्डिया २.०’
आफ्नो सेडानले मन जित्न सफल स्कोडाले सन् २००९ मा पहिलो एसयुभी स्कोडा यति सार्वजनिक गरेको थियो । यतिको सफलतापछि स्कोडाले कामिक, क्यारोक, कोडियाकजस्ता प्रिमियम एसयुभी बजारमा ल्यायो । यी सबै चेक रिपब्लिकस्थित स्कोडाको मुख्य प्लान्टमा उत्पादन गरिन्छ । अहिले फक्सवागन ग्रुपले ‘इन्डिया २.०’ प्रोजेक्टमा एक अर्ब युरो लगानी गरेको छ । कुनै एउटा देशको प्रोजेक्टका लागि कुनै अटोमोबाइल ग्रुपले गरेको यो सबैभन्दा ठूलो लगानी हो ।
भारतमा यो प्रोजेक्टको नेतृत्व स्कोडा इन्डियाले गरिरहेको छ । यो परियोजना अन्तर्गत स्कोडाले मिडसाइज एसयुभी कुशाक सार्वजनिक गरेको छ जसको औपचारिक विक्री जुनको अन्तसम्ममा सुरु हुनेछ । नेपालमा भने यो एसयुभी साउनमा सार्वजनिक हुँदैछ । ९५ प्रतिशत ‘लोकलाइज्ड’ यो एसयुभीको ‘एग्रेसिभ प्राइसिङ’ गरिने अपेक्षा गरिएको छ ।
एक सय २५ वर्षको अवधिमा एउटा सामान्य साइकल कम्पनीबाट संसारकै परिचित अटो ब्रान्डका रुपमा विकास भएको छ । लरिन र क्लेमेन्टको सोच र लगन विना यो सम्भव थिएन ।

