काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाट सबै किसिमका नयाँ तथा पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ । नयाँ नम्बर प्लेटसँगै सवारी साधनका मालिकले थप रकम खर्च गर्नु पर्ने भएको हो ।
विभागले नयाँ तथा वार्षिक कर तिरेर नविकरण गर्न आउने सवारी साधनमा अनिर्वाय इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गर्न लागेको हो । असार अन्तिमसम्ममा निषेधाज्ञा सकिने अनुमान सहित विभागले काम अगाडि बढाएको विभागको भनाई छ ।
‘इम्बोस्डको काम निकै ढिलोगरि भएको छ । अब सबै किसिमका पुराना सवारी साधनलाई नविकरण गर्न आउँदा इम्बोस्ड नम्बर प्लेट दिनेगरि काम अगाडि बढाएका छौं’, विभागका महानिर्देश नमराज घिमिरेले भने ।
कुन सवारीसाधनलाई कति खर्च ?
विभागले नम्बर प्लेटमा लाग्ने खर्च दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारी साधन गरेर चार भागमा विभाजन गरेको छ । विभागका अनुसार दुई पाङ्ग्रे सवारी साधनका लागि २ हजार ५ सय रुपैयाँ लाग्ने छ ।
तीन पाङ्ग्रे सवारी साधनले २ हजार ९ सय रुपैयाँ, चार पाङ्ग्रेका लागि ३ हजार २ सय र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।


