काठमाडौं । कुनै समय २०० सीसी सेग्मेन्टमा सिमित मोटरसाइकल मात्रै विक्री हुने नेपाली बजारमा अहिले हरेक कम्पनीले २०० देखि २५० सीसी क्षमताका मोटरसाइकल विक्री गर्दै आएका छन् ।
विशेषत बजाज, टीभीएस, केटीएम र यामाहाले यो सेग्मेन्टमा मोटरसाइकल विक्री गर्दै आएकोमा अब हिरो, होन्डा, टेकन, बेनेली, हस्कभर्ना, सिएफमोटो, एसवाईएम जस्ता ब्राण्डले पनि कडा चुनौती दिन सुरु गरेका छन् ।
नेपालको भौगोलिक बनावटकै कारण २०० र २५० सीसी क्षमताका मोटरसाइकल खोज्ने ग्राहक बढी रहेका छन् । अहिले बजारमा बजाज पल्सार एनएस २००, पल्सर २२० एफ, टीभीएस अपाचे आरटीआर २०० ४ भी, हिरो एक्स्ट्रीम २०० आर, सुजुकी, हिरो एक्सपल्स, केटीएम ड्यूक २०० र २५० लगायतका मोटरसाइकलहरु बढी विक्री हुने गरेका छन् ।
यो सेग्मेन्टमा हाेन्डाले नयाँ मोटरसाइकल हर्नेट २.० नेपाल बजारमा उतार्ने तयारी गरिरहेको छ भने बजाजले २५० सीसी सेग्मेन्टमा विक्री गर्दै आएको डोमिनारको अलावा अन्य मोडल पनि ल्याउने तयारी तिब्र बनाएको छ । यामाहा एफजेड २५०, टेकन २५०, हाटफोर्ड २२०, सिएफमोटो एनके २५० जस्ता मोटरसाइकल पनि भविष्यमा राम्रो गर्न सक्ने मोडल हुन् ।
उच्च पावर, ४ लाख ५० हजारसम्मको मूल्य, कम मेन्टिनेन्स खर्चका कारण धेरै मानिसको रोजाईमा यो सेग्मेन्ट पर्न सफल भएका हुन् । त्यसमा पनि चल्तीका ब्राण्डको केन्द्रमा यो सेग्मेन्ट परेसँगै धेरै ग्राहकको आकर्षण बन्न पुगेको हो ।
किन खोजिन्छ २०० सीसीभन्दा माथिका मोटरसाइकल
युवाहरुले २०० देखि २५० सीसीका मोटरसाइकल खोज्नुको मुख्य कारण उत्कृष्ट डिजाइन र सुरक्षा फिचर मुख्यरुपमा लिन सकिन्छ । युवा लक्षित यस्ता मोटरसाइकलमा धेरै कलर भेरिएन्ट र ड्यूल टोन कलरमा उपलब्ध रहेका छन् । मस्कुलर बडी र आर्कषक लुकका कारण पनि यी मोटरसाइकलको बढी माग हुने गरेको पाइन्छ ।
यस सेग्मेन्टमा विक्री हुने मोटरसाइकल माइलेजका हिसावले पनि राम्रो मानिन्छ । पावरफुल इन्जिन भएपनि करिब ३० देखि ४५ किलोमिटर प्रतिलिटरसम्म माइलेज आउने हुँदा यो सेग्मेन्टको व्यापार बढ्दै गएको छ ।
यो सेग्मेन्टमा विक्री हुने मोटरसाइकलमा ३० बीएचसम्मको पावर रहने हुँदा पावरफुल मोटरसाइकल किन्न चाहनेलाई सहज भएको छ ।
बाइकिङ्ग कल्चरको विकाससँगै यूवाहरु समूहनै निर्माण गरेर लामो दुरी यात्रा गर्ने प्रचलन बढ्दो छ । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल चलाउन निकै आरामदायी मानिन्छन् ।
सुरक्षाका हिसाबले पनि यी मोटरसाइकल राम्रा रहेका छन् । चौडा टायरको प्रयोग र एबीएस जस्ता फिचरले २०० देखि २५० सीसीका बाइक चर्चित बन्दै गएका छन् ।


