काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी नेपाल आउने भएको छ । यही महिना गुर्खाको नयाँ जेनेरेशन मोडल भारतमा सार्वजनिक हुँदैछ । भारतमा विक्री सुरु भएको केही महिनापछि गुर्खा नेपाल आउने भएको हो ।
हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले फोर्सका उत्पादन नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
‘यही महिनाबाट भारतमा विक्री सुरु हुँदैछ । त्यसपछि नेपाल ल्याउन हामीले प्रयास गरिरहेका छौं । सम्भवत तिहारपछि नयाँ जेनेरेशन गुर्खा नेपाल आउने छ’, हिमालयन अर्गनाइजेशनका चेयरम्यान ध्रुव थापाले भने ।
कम्पनीले पहिलो पटक २०२० अटो एक्स्पोमा यसलाई देखाएको थियो । सन् २०२१ को सुरुवातमा नै बजारमा आउने अपेक्षा गरिएको नयाँ गुर्खा विश्वभर चलेको कोभिड १९ महामारीको कारण रोकिएको थियो ।
विशेषत अफरोड एसयूभी मनपराउने ग्राहक लक्षित गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार, सुजुकी जिम्नी जस्ता मोडलसँग हुने देखिन्छ । नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, नयाँ डिजाइनको ह्वील जस्ता फिचर समावेस गरिएको छ ।
बल्की डिजाइन, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ । साथै, नयाँ ड्यासबोर्ड, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

