सुजुकी जिक्सर किन्ने कि यामाहा एफजेडएस ? दुई बीच यस्ता छन् फरक

काठमाडौं । सुजुकी जिक्सर १५० र यामाहा एफजेडएस भी थ्रि एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । आधुनिक टेक्नोलोजीको प्रयोग भएको यी दुबै मोटरसाइकल स्टाइलिस डिजाइन र आकर्षक फिचरले भरीपूर्ण छन् ।

नेपाली बजारमा उपलब्ध यी दुबै मोटरसाइकलको विक्रीमा भने तुलना गर्न सकिदैन । यामाहा एफजेडएसको एक महिनाको विक्री बराबर यूनिट सुजुकी जिक्सर एक वर्षमा पनि विक्री हुँदैन । यसले यी दुबै मोटरसाइकल चाहने ग्राहकको मनोविज्ञानलाई दर्शाउँछ ।

यामाहा एफजेडएस भि थ्री वार्षिक १५ हजार यूनिट हाराहारीमा विक्री हुने गरेको छ । त्यहि सुजुकी जिक्सरको विक्री १५ सय हारहारीमा मात्रै हुन्छ । तर, यी दुबै मोटरसाइकलमा उपलब्ध फिचरलाई तुलना गर्ने हो भने लगभग समान रहेको छ ।

इन्जिन

मोटरसाइलको मुटु भनेकै इन्जिन हो । त्यसमा पनि पावरफुल इन्जिन धेरै यूवाहरुको रोजाईमा पर्छ । पछिल्ला दिनमा एफआई इन्जिन भएको मोटरसाइकल खोज्ने बढेका छन् । यी दुबै मोटरसाइकलमा एफआई इन्जिन उपलब्ध छ ।

सुजुकीले जिक्सरमा १५५ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा १३.६ पीएस पावर प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

यामाहाले एफजेडएस भि थ्रीमा १४९ सीसी क्षमताको इन्जिन प्रदान गरेको छ । यसमा दिइएको इन्जिनले अधिकतम ८ हजार आरपीएममा १३.२ पीएस पावर प्रदान गर्छ । जिक्सरको इन्जिन क्षमता केही बढी भएपनि दुबै मोटरसाइकलको पावर भने लगभग उस्तै पाउन सकिन्छ ।

मूल्य

धेरै ग्राहकले हेर्ने पावर पछि मूल्य हो । मूल्यमा यी दुबै मोटरसाइकमा ठूलो भिन्नता छैन । यामाहा एफजेडएसको मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ भने जिक्सरको मूल्य ३ लाख ३८ हजार ९०० रुपैयाँ रहेको छ ।

टायर र ब्रेक

यामाहा र सुजुकीले समान साइजको टायर दिएका छन् । यी दुबै मोटरसाइकलमा अगाडिको टायर १००/८०-१७ इन्च र पछाडि १४०/६०-१७ इन्चको टायर पाउन सकिन्छ । दुबै मोटरसाइकलमा अलोय ह्वील दिइएको छ ।

ट्यूवलेस टायर, सिंगल च्यानल एबीएस, दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेका छन् ।

फुल डिजिटल कन्सोल

यामाहा र सुजुकी दुबै कम्पनीले फुल डिजिटल कन्सोल प्रयोग गरेका छन् । विशेषत डिजिटल कन्सोलमा स्पीडोमिटर, फ्यूल गेज, लो फ्यूल इन्डिकेटर, डिजिटल वाच, गियर पोजिसन जस्ता उपयोगी सूचनाहरु उपलब्ध रहने छन् ।

दशैं अफर

चाडपर्वको अवसर पारेर यामाहाको आधिकारीक विक्रेता एमएडब्लूले ग्राहक केन्द्रित योजना संचालन गरिरहेको छ । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले स्क्र्याच कार्ड मार्फत ८ हजारदेखि १ लाखसम्मको नगद छुट, लक्की ड्र मार्फत हरेक हप्ता एक जनालाई ४ तोला सुन, बम्पर उपहार एक जनालाई १२ तोल सुन दिने योजना संचालन गरिरहेको छ ।

साथै, कम्पनीले कम मासिक किस्ता, सून्य प्रतिशत ब्याजदर र कम डाउन पेमेन्टमा मोटरसाइकल किन्न सकिने योजना पनि संचालन गरिरहेको छ ।

सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले १० हजार नगद छुट दिएको छ । साथै, कम्पनीले एक वर्षको वार्षिक कर, एक्स्चेन्ज सुविधा, फाइनान्स सुविधा र बम्पर उपहारमा हरेक १५ दिनमा एक जनालाई सुजुकी इन्टुडर दिने जनाएको छ ।


Back_to_top