काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नोभेम्बरमा नेपाल ल्याउने तयारी गरेको इलेक्ट्रीक क्रसओभर अहिले विश्वभर प्रतिक्षित इलेक्ट्रीक गाडी बनेको छ । हुन्डाईले ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको आयोनीक-५ लाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने छ । यसले ३५० किलोवाट क्षमताको फास्ट डीसी चार्जर सर्पोट गर्नेछ ।

फास्ट चार्जिङ क्षमताको कारण नै अहिले आयोनीक-५ निकै चर्चा बटुल्न सफल मोडल हो । यूरोप, अमेरिकी र एशियाली देशमा यसको प्रतिक्षा बढ्दो रहेको छ । हुन्डाईले आयोनीक-५ मा ५८ र ७७.४ किलोवाट आवरको दुई व्याट्री अप्सन दिएको छ । नेपाल आउने गाडी ५८ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध रहने छ ।
सोलार रुफ, आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न किल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो । हुन्डाइले ३००० एमएमको ह्वीलवेस दिएको कारण यो गाडी निकै स्टेवल र आरामदायी हुने विश्वास गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्रिसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको आयोनीक-५ को तत्काल नेपालमा कुनै प्रतिस्पर्धी मोडल उपलब्ध रहेको छैन ।

