नेपालमा पाइन्छ तीन प्रकारका विद्युतीय गाडी

काठमाडौं । विद्युतीय गाडी संसारभर तीन प्रकारमा उपलब्ध रहेका छन् । ग्राहकमा कस्तो किसिमको विद्युतीय कार किन्ने भन्ने अन्योल संसारभर नै व्यप्त रहेको पाइन्छ ।

सामान्य बोलीचालीको भाषामा इभी भनिए पनि कुनै गाडीमा इन्टरनल कम्बस्चन इन्जिन र व्याट्रीको संयुक्त पावर पाउन सकिन्छ भने व्याट्रीको मात्रै प्रयोग भएको गाडी पनि पाइन्छ ।

अहिले व्याट्री पावरबाट मात्रै चल्ने (इभी/बीइभी), हाइब्रिड इलेक्ट्रीक भेहिकल (एचइभी), प्लगइन हाइब्रिड इलेक्ट्रीक भेहिकल (पीएचइभी) उपलब्ध रहेका छन् । यी तीन किसिमका गाडीमा फरक फरक सिस्टम जडान भएका हुन्छन् ।

इलेक्ट्रीक भेहिकल (EV/BEV)

अहिले विश्वभर सर्वाधिक चर्चामा रहेको इलेक्ट्रीक भेहिकललाई छोटकरीमा इभी वा बीइभी भन्ने गरिन्छ । यस्ता गाडीमा इन्जिन हुँदैन । यी गाडी विद्युतीय मोटर र व्याट्रीको सहायताले गुड्छन् । यस्ता गाडीलाई घरमा रहेको सामान्य विजुलीको मार्फत चार्ज गरेर चलाउन सकिन्छ ।

इलेक्ट्रीक भेहिकललाई चार्ज गर्न लेभल १, लेभल २ र लेभल ३ को चार्जर प्रयोग गर्न सकिन्छ । लेभल १ र २ चार्जर घरमा जडान भएको मिटरको क्षमता अनुसार चलाउन सकिन्छ भने, लेभल ३ का चार्जर कर्मशियल चार्जर हुन् । वा भनौं फास्ट चार्जर हुन् । यी चार्जर चलाउन बढी पावरको ट्रान्सफरमरको प्रयोग गर्नु पर्ने हुन्छ ।

इलेक्ट्रीक कार हाइब्रिड र प्लग-इन हाइब्रिडभन्दा धेरै रेञ्ज प्रदान गर्ने क्षमताका हुन्छन् । नेपालमा उपलब्ध एमजी इजेडएस, हुन्डाई कोना र आयोनीक, बीवाइडी इ६, एम थ्री र टी थ्री, टाटा नेक्सन, दिगो इ६, महिन्द्रा इभेरिटो, किया निरो जस्ता कार पूर्ण इलेक्ट्रीक कार हुन् ।

हाइब्रिड इलेक्ट्रीक भेहिकल (HEV)

व्याट्री र इन्टरनल कम्बस्चन इन्जिन दुबैको सहायता गुडाउन मिल्ने कार हाइब्रिड इलेक्ट्रीक कार हुन् । यस्ता कारहरुमा रहेको व्याट्री चार्ज गर्न विद्युतमा जोड्नु पर्दैन । यसमा रहेको व्याट्री रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको सहायताले चार्ज हुन्छन् । यस्ता कारमा प्रयोग हुने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमले पैदा गर्ने काइनेटीक इनर्जीलाई व्याट्रीमा जम्मा गरेर आईसी इन्जिनलाई सहयोग गर्ने गर्छन् ।

यस्तो सिस्टम जडान भएका गाडीलाई कम्पनीहरुले आ-आफ्नो नाम दिएका छन् । माइल्ड, माइक्रो र फुल हाइब्रिड जस्ता नाममा कम्पनीहरुले ल्याउने हाइब्रिड कार यो वर्गमा पर्छन् । माइल्ड र माइक्रो हाइब्रिडको प्रयोग भएको गाडी व्याट्री पावरबाट चल्न सक्दैनन् । तर, फुल हाइब्रिड कारहरु थोरै समय चल्न सक्छन् । यस्ता थोरै समय चल्न सक्ने गाडीको माइलेज धेरै आउने गर्छ । टोयोटा र्याभफोर यो सेग्मेन्टमा नेपालमा विक्री हुँदै आएको कार हो ।

प्लग-इन हाइब्रिड (PHEV)

व्याट्री इलेक्ट्रीक भेहिकल र हाइब्रिड इलेक्ट्रीक भेहिकलको बीचमा उत्पादन भएको गाडी हो प्लग-इन हाइब्रिड । यस्ता हाइब्रिड गाडीलाई घरमा रहेको विजुलीको सहायता चार्ज गर्नु पर्छ । साथै, यसमा इन्टरनल कम्बस्चन इन्जिनको पनि प्रयोग भएको हुन्छ । प्लगइन हाइब्रिडलाई व्याट्रीको प्रयोगबाट मात्रै पनि एक पटकको फुल चार्जमा ४० देखि ७० किलोमिटरसम्म चलाउन सकिन्छ । यस्ता गाडीले ६० प्रतिशत पेट्रोलियम पदार्थ बचत गर्ने विभिन्न अध्यनहरुले देखाएका छन् ।

अहिले बीएमडब्लू र मित्सुविसी आउटल्याण्डर नेपालमा विक्री हुँदै आएको हाइब्रिड कारहरु हुन् ।


Back_to_top