काठमाडौं । यामाहा र होन्डाले दुई नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरिरहेका छन् । यी दुबै कम्पनीले ल्याउने मोटरसाइकल छुट्टाछुट्टै सेग्मेन्टका हुन् ।
होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले भारतमा उत्पादन भएको पहिलो एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी गरेको छ । भारतमा दुई महिना अघि सार्वजनिक भएको एनएक्स २०० एड्भेन्चर सेग्मेन्टमा राम्रो चर्चा कमाइरहेको मोटरसाइकल हो ।
त्यसैगरी यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले १५० सीसी सेग्मेन्टमा एफजेड एक्स नेपाल ल्याउने तयारी गरेको छ । यामाहाले आफ्नो सफल मोडल एफजेडएसलाई रेट्रो लुक्स दिएर ४ महिना अघि भारतमा सार्वजनिक गरेको थियो ।
होन्डाले एनएक्स २०० मा १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्नेछ ।

यामाहा एफजेड एक्समा १४९ सीसी क्षमताको एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
युवाहरुले एड्भेन्चर मोटरसाइकलको प्रयोग बढाउँदै लगेको समयमा आएको होन्डा एनएक्स २०० को पावर र मूल्यले ग्राहक आकर्षित गर्ने अनुमान गरिएको छ । यसमा दुबै तिर १७ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन, नकल गार्ड, दुबै चक्कामा डिस्क ब्रेक, एबीएस जस्ता फिचर उपलब्ध रहेका छन् ।

एफजेड एक्स रेट्रो लुक मोर्डन टेक्नोलोजीमा आधारित रहेर निर्माण भएको मोटरसाइकलमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेडल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजी आधारित धेरै फिचर रहेका छन् ।
कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । एफजेड एक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।

