चिनियाँ कार नेपाल आउने क्रम बढ्दो, ६ महिनामा ३ ब्राण्डको प्रबेश

काठमाडौं । सन् २००२ देखि २०१० सम्म नेपालमा विक्री हुने चिनियाँ ब्राण्ड चेरी, ग्रेटवाल र चांगन पुनः नेपाल आएका छन् । पछिल्लो ६ महिना भित्रै यी ब्राण्डले नेपाल प्रबेश गरेका हुन् ।

यसअघि नेपालमा विक्री भएका यी कारले बजारमा राम्रो व्यापार गर्न सकेका थिएनन् भने सर्भिसमा पनि ठूलो समस्या थियो । अहिले कथा अल्ली फरक बनाउने कोशिष भएको छ । तर, पूर्वाधार भने कुनैपनि ब्राण्डले तयार गरिसकेका छैन ।

अटोमोवाइल व्यवसायमा अनुभव लिएका व्यवसायीहरुले अहिले चिनियाँ ब्राण्ड नेपाल ल्याएका हुन् । विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले ग्रेटवालका उत्पादन नेपालमा ल्याएको हो । विशाल ग्रुप अन्तर्गत अहिले नेपालमा फक्सवागेन, रेनो, माज्दा, एमजी, सुजुकी मोटरसाइकल जस्ता ब्राण्डहरु छन् ।

साथै, ग्रेटवालको एसयूभी ब्राण्ड हाभल पनि नेपाल आएको छ । कम्पनीले अहिले थापाथलीमा शोरुम निर्माण गरेर गाडी विक्री गर्दै आएको छ भने सर्भिस सेन्टर निर्माणको क्रममा रहेको जनाएको छ । पीकअप र एसयूभी विक्री सुरु गरेको ग्रेटवालले यसअघि सन् २०१० देखि १३ सम्म पनि नेपालमा विक्री गरेको थियो ।

चेरीलाई सारडा ग्रुपले नेपाल ल्याएको हो । यसअघि निसान र डाट्सन ब्राण्डका गाडी विक्री गर्दै आएको सारडा ग्रुपले चेरीको गाडी पनि आयात सुरु गरिसकेको छ । काठमाडौंको थापाथलीमा शोरुम निर्माण गरेर चेरीको विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । अहिले चेरीको टिगो ४ प्रो मोडल नेपाल आएको हो । दुई दिनपछि यसको टेष्ट ड्राइभ सुरु हुने कम्पनीले जानकारी दिएको छ । सर्भिस सेन्टर पनि निर्माणको क्रममा रहेको कम्पनीले जनाएको छ ।

अटोमोवाइल क्षेत्रको अग्रणी कम्पनी एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले चांगन ब्राण्ड नेपाल ल्याएको छ । कम्पनीले ल्याउने गाडी नेपाली भन्सारमा यसअघि नै देखिएको थियो । काठमाडौंको नक्सालमा शोरुम निर्माण गरेर चांगनको विक्री सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ । चांगन पनि यसअघि नेपाल आएको मोडल हो । चांगनले पहिलो गाडीको रुपमा सेडान कार नेपाल ल्याउँदैछ ।

 


Back_to_top