रेट्रो डिजाइनमा लोभलाग्दो ‘होन्डा सिबी १९० एसएस’

काठमाडौं । होन्डाले चीनमा सिबी १९० एसएस अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ । कम्पनीले रेट्रो डिजाइनको यो मोटरसाइकललाई निकै आकर्षक बनाएर बजारमा ल्याएको हो ।

होन्डाले यसअघि दिएको टुइन-पड इन्ट्रुमेन्ट क्लष्टरलाई टुइन-पड एसिमेट्रीक यूनिटले रिप्लेस गरेको छ । यसमा टेकोमिटर एनालग दिइएको छ भने स्पीडोमिटर, फ्यूल इन्डिकेटर, घडी, ओडोमिटर र गियर पोजिसन इन्डिकेटर डिजिटल रहेको छ ।

गोलो आकारको एलइडी हेडलाइट, एलइडी टेल लाइट, एलइडी इन्डिकेटर दिइएको छ । नयाँ सिंगल पिस ह्याण्डलबार पहिलेको भन्दा केही तल राखिएको राखिएको छ, जसले यसको राइडिङ पोजिसनलाई निकै आक्रमक बनाएको छ ।

होन्डाको मिड रेञ्ज पर्फमेन्स मोटरसाइकलमा १८४ सीसी क्षमताको एयरकुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १५.९ पीएस पावर र १५.३ एनएम पीक टर्क प्रदान गर्छ । होन्डाको अनुसार यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्छ ।

होन्डाको अनुसार यसमा १५.३ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ भने चालकले फुल ट्याङ्क पेट्रोलले ५०० किलोमिटर यात्रा गर्न सक्नेछन् । मोटरसाइकलको टप स्पीड क्षमता भने ११० किलोमिटर प्रतिघन्टा रहेको छ ।

मोटरसाइकलको अगाडि इन्भर्टेट फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको सिबी १९० एसएसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

होन्डाको लागि नेपालको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले चीनमा उत्पादन भएको एक्सआर १५० एल र १९० एल नेपाल ल्याएर विक्री गर्दै आएको भएपनि यी दुई बाहेक अर्को मोडल नेपाल ल्याएको छैन । यस्तोमा यो मोटरसाइकल नेपाल आउने सम्भावनाको विषयमा केही भन्न सक्ने अवस्था छैन ।


Back_to_top