टेक्नोलोजीमा फड्को मारेको अटो क्षेत्रमा कामदारको समस्या बढ्दै

काठमाडौं । कुनै समय नेपालमा सवारी साधनको विक्री नगन्य हुन्थ्यो । अहिले समय फेरिएको छ । मोटरसाइकल, कार, जीप, भ्यान, मिनिवस, माइक्रोबस, लाइट कमर्शियल भेहिकल, पीकअप, ठूला वस, ट्रक, टिपर र हेभी इक्यूपमेन्ट गरेर वार्षिक ३ लाख ५० हजार यूनिट हाराहारी विक्री हुन थालेको छ । यसले अटोमोवाइल बजारको विस्तारलाई देखाउँछ ।

नेपाल जत्रो भूगोल र जनसंख्या भएका सम्वृद्ध देशहरुमा सरदर वार्षिक १२ देखि १५ लाख यूनिट भेहिकल विक्री हुने गरेका छन् । त्यसमा कारको संख्या सबैभन्दा धेरै हुन्छ । तर, नेपाल र नेपालीको आर्थिक हैसियत कमजोर रहेकाले यहाँ कारको विक्री अत्यन्त न्यून रहेको छ ।

पछिल्लो एक दशक अटोमोवाइल क्षेत्रमा भएको खोज र अन्वेषणले धेरै नयाँ र आधुनिक फिचरहरुको जन्म गराएको छ । विद्युतीय र हाइड्रोजन फ्यूलसेल प्रयोग भएका सवारी साधन नयाँ खोज हुन् भने पुरानै कम्वस्चन इन्जिन भएका गाडीमा पनि सानो सीसीको गाडीमा उच्च पावर, अटोनोमश ड्राइभिङ फिचर जस्ता खोज अझ महत्वपूर्ण मानिएका छन् ।

गाडीमा प्रयोग हुने सेन्सरको उपभोग पनि निकै बढेको छ । हरेक कुरा गाडीले आफैँ पहिचान गर्नेगरी गाडी बन्न थालेका छन् । रिभर्स र फ्रन्ट पार्किङ सेन्सर, सिट वेल्ट वार्निङ, लेन किप एसिस्ट, हिल होल्ड, ट्रायक्सन कन्ट्रोल, ब्रेक एसिस्ट जस्ता नयाँ प्रविधि अहिले बजारमा विक्री हुने कारमा उपलब्ध हुन थालेका छन् । जसरी गाडी हाइटेक हुँदै गएका छन्, त्यसरी नै यी गाडीको सर्भिसमा चुनौती थपिदै गएको छ ।
नेपालमा कम्पनीले संचालन गरेको आधिकारीक सर्भिस सेन्टरले मात्रै सबै गाडीलाई सेवा दिन सक्ने अवस्था छैन । नेपालको भौगोलिक अवस्थाको कारण पनि सबै ठाउँमा आधिकारीक सेवा पुर्याउनै मुस्कील छ । त्यसैले स्थानीय स्तरमा खुलेका ग्यारेजहरुले पनि सेवा उत्तिकै दिइरहेका छन् ।

कम्पनीले संचालन गरेका सबै सर्भिस सेन्टरहरु पनि आवश्यक पूर्वाधारले भरिपूर्ण छैनन् । त्यसमा पनि सन् २०२० पछि आएको नयाँ मापदण्डका गाडी बाटोमा विग्रिएको अवस्थामा बनाउन सक्ने ठाउँ राजमार्गहरु मै छैन भने पहाडी जिल्लामा पुग्ने कुरै भएन । नेपालमा अटोमोवाइल क्षेत्रसँग सम्बन्धीत सिप सिकाउने सिटीभीटीमा पनि पढ्न र सिक्न रुचाउने युवाहरु नभएको सिटीभीटीको भनाई छ । यसले अटो क्षेत्रमा रोजगारीको सम्भावना युवा पुस्ताले आँकलन गरेको छैन भन्दा फरक पर्दैन ।

नेपालमा ब्राण्डको उपस्थिति

नेपालमा मोटरसाइकल सर्वाधिक विक्री हुने साधन हो । अहिले बजाज, होन्डा, टीभीएस, यामाहा, हिरो, सुजुकी, महिन्द्रा, जावा, केटीएम, रोयल इन्फिल्ड, भेष्पा, अप्रिलिया, हाडफोर्ड, मोटरहेड, क्रसफायर, एमभी अगस्टा, बेनेली, बीएमडब्लू, डुकाटी जस्ता विश्व प्रसिद्ध ब्राण्डका मोटरसाइकल हाम्रो बजारमा उपलब्ध रहेका छन् ।

त्यसैगरी, कार सेग्मेन्टमा हुन्डाई, सुजुकी, किया, टाटा, निसान, टोयोटा, डाट्सन, रेनो, एमजी, महिन्द्रा, माज्दा, सुबरु, फक्सवागेन, स्कोडा, जीप, फोर्ड, ग्रेटवाल, हाभल, चेरी, फोटोन, प्रोटोन, बीवाइडी, बीएमडब्लू, मर्सिडिज, डिएफएसके, प्यूजो, सिट्रोन, दिगो, डेरी जस्ता ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

लाइट कमर्शियल र कमर्शियल गाडी विक्री गर्ने महिन्द्रा, टाटा, अशोक लेलैण्ड, म्यान, आइसर, इसुजु, विभिन्न ब्राण्डका ट्याक्टर, हेभी इक्यूपमेन्ट विक्रेता कम्पनी यहाँ संचालनमा रहेका छन् । यी सबै कम्पनीले ठूलो संख्यामा सवारी साधन विक्री गरिरहेका छन् ।

निकै ग्ल्यामर क्षेत्र मानिएको अटोमोवाइलमा काम गर्ने जनशक्ति अभाव हुनु आफैँमा आश्चर्यजनक विषय हो । यसमा सरोकारवाला निकाय र सरकार मिलेर काम गर्नु पर्ने अवस्था रहेको छ ।

दक्ष जनशक्तिको खाँचो

गाडी आयात गर्दादेखि विक्रीपछिको सेवा प्रदान गर्न हरेक कम्पनीलाई दक्ष जनशक्तिको खाँचो हुने गर्छ । ग्राहकलाई गाडीको बारेमा जानकारी दिने होस् वा पछि विग्रिएपछि सेवा दिने सबै काममा जनशक्तिको खाँचो हुन्छ । तर, यति धेरै ब्राण्ड उपस्थिति रहेको देशमा सधैँ जनशक्ति अभाव हुने गरेको देखिन्छ ।

नेपालमा अटो क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने थलो यीनै गाडी विक्रेताको अफिस नै हो । अहिले बजारमा उपलब्ध धेरै कामदार यामाहा, टोयोटा, टाटा, हुन्डाई र बजाज जस्ता कम्पनीमा काम गरेर सिक्दै उत्पादन भएका छन् । यसरी उत्पादन भएका कामदारको भरमा अटो क्षेत्र अगाडि बढ्न सक्ने अवस्था छैन ।

बिद्युतीयमा झनै समस्या

अहिले नेपालमा हुन्डाई, किया, एमजी, बीवाइडी, अउडी, टेस्ला, ज्यागुअर र अन्य चिनियाँ ब्राण्डका इलेक्ट्रीक कार गुड्न थालेका छन् । सिमित कम्पनी बाहेक अन्य कम्पनीले सामान्य ज्ञान भएका टेक्नीसियन समेत राखेका छैनन् । त्यसैले विद्युतीय गाडीमा आउन सक्ने समसयालाई समाधान गर्न सक्ने जनशक्ति उत्पादनमा कम्पनीहरुले लगानी बढाउनु पर्ने अवस्था रहेको छ ।


Back_to_top