काठमाडौं । स्कोडाले सन् २०२० मा अन्तर्राष्ट्रिय बजारमा उतारेको इलेक्ट्रीक कार ‘इन्याक आइभी’ नेपाल आउने पहिलो इलेक्ट्रीक कार बन्न सक्ने देखिएको छ । अहिले यसको अन्तर्राष्ट्रिय बजारमा बुकिङ ७५ हजार यूनिट रहेको कम्पनीले जनाएको छ ।
स्कोडाले भारतमा यसको एसेम्बल गर्ने योजना बनाएसँगै नेपाल आउने सम्भावना बढेको हो । स्कोडाले भारतमा सन् २०२३ बाट उत्पादन र विक्री गर्दै आएको सबै मोडल नेपालमा उपलब्ध रहेको कारण ‘इन्याक आइभी’ इलेक्ट्रीक क्रसओभर एसयूभी नेपाल आउने सम्भावना देखिएको हो ।
स्कोडाले भारतीय उत्पादन बाहेक पनि चेक लगायतका देशमा उत्पादन हुने गाडी नेपाल ल्याउने भएको कारण भारतमा भन्दा पहिला नै यो कार नेपाल आउन पनि सक्नेछ ।
स्कोडा इन्याक फक्सवागेन आईडी फोरमा आधारित क्रसओभर एसयूभी हो । यसलाई कम्पनीले विभिन्न व्याट्री अप्सनमा ल्याएको छ भने रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहने छ ।
यसमा प्रयोग भएको सबैभन्दा सानो ५५ किलोवाट आवरको हो भने सबैभन्दा ठूलो ८० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक रहेको छ । ५५ किलोवाट आवरको व्याट्रीलाई एक पटक फुलचार्ज गर्दा ३५० किलोमिटर रेञ्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको अधिकतम ३०६ हर्स पावर शक्ति प्रदान गर्नेछ । यो भनेको मोटर क्षमता २२८ किलोवाट हो ।


