काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेज्ले बीएस सिक्स इन्जिनमा कनेक्ट फिचर थप गरेर एफजेडएस भि थ्रि मोटरसाइकल नेपालमा विक्री सुरु गरेको छ । नयाँ फिचर र इन्जिनमा एफजेडएस भि थ्री आएसँगै ग्राहकले आफ्नो आवश्यकता अनुसारको भेरियन्ट खरिद गर्न सक्ने भएका हुन् ।
एफजेडएस भि थ्रीलाई ग्राहकले प्रदुषण मापदण्ड बीएस फोर र बीएस सिक्स इन्जिन मध्ये कुनै एक छनोट गर्दा यसमा रहेका अन्य फिचरको विषयमा जानकारी राख्नु बुद्धिमानी हुन्छ ।
यी दुबै मोटरसाइकलको मूख्य भिन्नता इन्जिनमा हो । इन्जिनले प्रदान गर्ने पावरमा पनि फरक रहेको छ । बीएस फोर इन्जिन नयाँ इन्जिनको तुलनामा बढी शक्तिशाली छ । बीएस फोर इन्जिनले १३.२ पीएस पावर दिन्छ भने बीएस सिक्स इन्जिनले १२.४ पीएस पावर मात्रै प्रदान गर्छ ।
टर्क भने नयाँ बीएस सिक्स मोडलको धेरै छ । यसले अधिकतम १३.३ एनएम टर्क प्रदान गर्दा बीएस फोर इन्जिनले १२.८ एनएम टर्क प्रदान गर्छ । दुबैमा समान ५ स्पीड गियरबक्स रहेको छ ।

दुबै मोडलमा समान सिंगल च्यानल एबीएस र एउटै साइजको डिस्क ब्रेक दिइएको छ । समान १७ इन्चको टायर, अगाडि टेलिस्कोपीक फर्क र पछाडि एड्जस्टेवल मोनोक्रस सस्पेन्सन पाउन सकिन्छ ।
नयाँ बीएस सिक्स मोडलको तौल बीएस फोरको तुलनामा २ केजी कम छ । त्यही कारण बीएस सिक्स मोडलको माइलेज पुरानोको तुलनामा धेरै पाउन सकिन्छ भने नयाँ प्रदुषण मापदण्डको इन्जिन भएको कारण प्रदुषण कम गर्छ ।
दुबै मोटरसाइकलमा समान लम्वाई, चौडाई, उचाई र ह्वील वेस रहेको छ । फ्यूल ट्याङ्क भने नयाँ मोडलमा केही ठूलो छ । डिजिटल स्पीडोमिटर, फ्यूल गेज, लो फ्यूल इन्डिकेटर, इलेक्ट्रीक स्टार्ट, एलइडी हेडल्याम्प, टर्न सिग्नल, टेललाइट जस्ता फिचर एउटै प्रयोग भएका छन् ।
मूल्यमा भने यी दुई मोटरसाइकलमा ३० हजार रुपैयाँको फरक रहेको छ । ३० हजार बढी तिर्ने ग्राहकले कम प्रदुषण गर्ने मोटरसाइकल पाउँछन् भने यामाहाको कनेक्ट एक्स फिचरको प्रयोग गर्न पाउने छन् ।

कनेक्ट एक्स फिचर प्रयोग गर्ने चालकले एपमार्फत मोटरसाइकल र मोवाइल कनेक्ट गर्न सकिने रहेको छ । यो एप एन्ड्रोएड तथा एप्पल स्टोर दुबैमा उपलब्ध रहेको छ ।
यो एप मार्फत ग्राहकले पार्किङमा आफ्नो मोटरसाइकल कहाँ छ भनेर सजिलै पत्ता लगाउन सक्नेछन् । यस्तै स्मार्ट लक मार्फत मोटरसाइकल चोरी हुनबाट बचाउ सक्ने छन् ।
यसमा ट्राभल हिस्ट्री एपमार्फत यात्रा गरेको स्थान र दुरी रेकर्ड हुनेछ । त्यस्तै जीपीएस मार्फत अन्तिम पटक मोटरसाइकल पार्किङ गरिएको स्थानसमेत हेर्न सकिने छ ।

