काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ बैशाखदेखि नेपाल सरकारले नेपाल प्रदुषण मापदण्ड ६ लागु गर्ने तयारी गरेको छ । अहिले छलफल अन्तिम चरणमा पुगेको भन्दै नयाँ वर्षदेखि नयाँ प्रदुषण मापदण्ड लागु गर्न लागिएको वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
बिक्रम संम्वत २०६९ सालमा लागु गरेको ‘नेपाल प्रदुषण मापदण्ड ३’ पछि अहिलेसम्म अर्को नयाँ मापदण्ड लागु हुन सकेको छैन । भारतले आफ्ना सबै सवारी साधन बीएस ६ मापदण्डमा उत्पादन गर्न थालेको एक वर्षभन्दा धेरै समय भइसकेको अवस्थामा नेपालले पनि ३ वाट एकै पटक ६ मा उक्लन लागेको हो । यो नयाँ मापदण्ड ठूला कमर्शियल गाडीमा भने तत्कालै लागु हुने छैन । बैशाखबाट मोटरसाइकल तथा कार सेग्मेन्टमा भने नयाँ मापदण्ड लागु गर्ने तयारी भइरहेको भएपनि अहिल्यै निर्णय भने भइसकेको छैन ।
के हो नेपाल प्रदुषण मापदण्ड ?
नेपाल सरकारले सवारी साधन उत्पादन र आयातलाई मध्यनजर गर्दै प्रदुषण मापदण्ड तोक्ने गरेको छ । यसले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनमा प्रयोग हुने इन्जिनबाट उत्र्सजन हुने प्रदुषणलाई नियन्त्रण गर्ने काम गर्छ । हरेक सावरी साधन संचलान गर्दा निस्कने धुँवामा प्रदुषणको मापन गरिन्छ ।
नेपाल प्रदुषण मापदण्ड ३ र ४ बराबरको इन्जिन प्रयोग गरिएको कुनै पनि सवारी साधनबाट निस्कने धुँवामा सल्फरको मात्रा ५० पीपीएम (पार्टस पर मिलियन) रहेको हुन्छ भने अब लागु हुने नयाँ मापदण्डमा इन्जिनबाट निस्कने धुँवामा १० पीपीएम मात्र रहने व्यवस्था गरिएको छ ।
पुरानो मापदण्डको तुलनामा नयाँ मापदण्डको डिजेल इन्जिनले प्रबाह गर्ने सल्फरको मात्रा ८० प्रतिशत कम हुने छ । यसका साथै डिजेल इन्जिनबाट उत्पादन हुने नाइट्रोजन अक्साइड तथा पार्टिकुलेट म्याटरको मात्रामा धेरै कम गरिएको छ । त्यस्तै पेट्रोल इन्जिनबाट उत्र्सजन हुने हाइड्रोकार्वन तथा कार्बन मोनोअक्साइकड जस्ता हानिकार ग्यास पनि कम हुने छ ।
मोटरसाइकलको मूल्य बढ्ने
अहिले नेपालमा विक्री हुने अधिकांश ४ पाङ्ग्रे गाडी नयाँ मापदण्ड अनुसारका नै रहेका छन् । सन् २०२१ को सुरुवातबाटै सबै गाडी बीएस ६ मापदण्ड अनुसारको आउन थालेका छन् । तर, मोटरसाइकल कम्पनीहरुले भने केही मोडल मात्रै बीएस ६ मा विक्री गर्दै आएका छन् ।
अहिलेसम्म केटीएमले मात्रै आफ्ना सबै मोडल बीएस ६ इन्जिनमा उपलब्ध गराएको छ । त्यसबाहेक होन्डाले केही मोडल, यामाहा आफ्नो स्कुटर र केही मोटरसाइकल र टीभीएसले एनटर्क स्कुटर बीएस ६ इन्जिनमा उपलब्ध गराएका छन् ।
बीएस ४ को तुलनामा बीएस ६ मोटरसाइकलको मूल्य १२ देखि २० हजारसम्म महंगो मूल्य कायम हुने अनुमान गरिएको छ ।

