१५ मिनेटमा फुलचार्ज हुने इलेक्ट्रीक कार ल्याउँदै टोयोटा, रेन्ज पनि दोब्बर

काठमाडौं । जापानी अटोमोवाइल जायन्ट टोयोटाले ‘एलक्यू कन्सेप्ट’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको एलक्यू कन्सेप्ट कारमा दिइएको व्याट्रीलाई केबल १५ मिनेटमा फुल चार्ज गर्न सकिने जनाइएको छ ।

निकै ढिलोगरी इलेक्ट्रीक कार उत्पादनमा लागेको टोयोटाले सन् २०३० सम्ममा वार्षिक ३५ लाख इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने लक्ष्य सार्वनिक गर्दै नयाँ व्याट्रीको खोज गरेको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको एलक्यू कन्सेप्टमा ‘सोलीड स्टेट व्याट्री’ प्रयोग गरिएको छ । नयाँ व्याट्रीको विषयमा बोल्दै टोयोटाको भाइस प्रेसिडेन्ट केइजी काइताले भने, ‘नयाँ सोलीड स्टेट व्याट्रीलाई १५ मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।’

सोलीड स्टेट व्याट्री रेगुलर लिथियम आयोन व्याट्री कै साइज र तौलमा उपलब्ध हुनेछ । तर, यसको रेन्ज क्षमता भने धेरै हुुनेछ । सार्वजनिक भएका विभिन्न रिपोर्टलाई आधार मान्ने हो भने टोयोटाको नयाँ टेक्नलोजीको व्याट्रीले रेगुलर व्याट्रीको भन्दा दोब्बर धेरै रेन्ज दिनेछ ।

कम्पनीका भाइस प्रेसिडेन्ट काइताका अनुसार यो व्याट्री तत्काल धेरै संख्यामा उत्पादन हुने छैन । उत्पादनको लागि विशेष योजना र स्थान तयार गर्नु पर्ने भएकाले अहिलेकै अवस्थामा धेरै उत्पादन सम्भब छैन । यद्यपी यसको व्यवसायी उत्पादन सन् २०२५ भित्रै हुने उनले बताए ।


Back_to_top