काठमाडौं । स्पोर्ट्स कारमा तीनवटा पेडल अर्थात् क्लच, ब्रेक र एक्सिलेटरको माग अझै समाप्त भएको छैन भन्ने कुरालाई पोर्शेले प्रमाणित गर्दिएको छ । २०२५ को फेसलिफ्ट ‘९११ क्यारेरा एस’ लाई सुरुमा आठ स्पीड पीडीके अटोमेटकि गियरबक्समा मात्रै उपलब्ध गराएको थियो । अब कम्पनीले बजारको माग भन्दै ६-स्पीड म्यानुअल गियरबक्समा पनि ल्याएको हो ।
यहाँ अझ रोचक पक्ष के छ भने नयाँ संस्करणको ९११ क्यारेरा एस उत्तर अमेरिकाका ग्राहकका लागि मात्र उपलब्ध हुनेछ । म्यनुअल प्याक नाम दइिएको यो संस्करण ९९२.२ पुस्ताको क्यारेरा एसलाई अझ चालक केन्द्रित बनाउने उद्देश्यले तयार गरिएको हो ।
बढी ‘ड्राइभिङ एन्गेजमेन्ट’ चाहने चालकको मागलाई सम्बोधन गर्न कम्पनीले क्यारेरा एसलाई म्यानुअल गियरबक्समा ल्याएको हो ।
नयाँ म्यानुअल क्यारेरा एस कूपे र क्याब्रियाेलेट दुवै स्वरूपमा उपलब्ध हुनेछ । यसमा ६-स्पीड म्यानुअल गियरबक्ससँगै रियर ह्वील स्टेयरिङ र १० मिलिमिटर कम गरिएको स्पोर्ट सस्पेन्सन पाउन सकिन्छ । सेन्टर लक ह्वील, विशेष ट्युन गरिएको एक्जस्ट र अन्य स्पोर्टी उपकरणले यसलाई पृथक देखाएको छ ।
क्यारेरा एस म्यानुअलमा ३.० लिटर ट्वनि-टर्बो फ्ल्याट-सिक्स इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले ४७३ हर्सपावर उत्पादन गर्छ ।
कम्पनीले २०२७ मोडलका लागि अर्डर खुलिसकेको छ । क्यारेरा एस कूपेको अमेरिकी बजारमा मूल्य १ लाख ६७ हजार १०० डलरबाट सुरु हुन्छ ।
पोर्शेको यो कदमले उच्च प्रदर्शनका कारमा अटोमेटिक र विद्युतीकरण बढिरहेको समयमा पनि चालक स्वयंले गियर परविर्तन गर्ने अनुभवको माग अझै बलियाे रहेको देखाएको छ ।


