दुई तले ‘सुपर जम्बो जेट ए–३८०’को अन्तिम डेलिभरी

काठमाडौं । एयरबस कम्पनीको ए–३८० को अन्तिम डेलिभरी इमिरेट्सलाई गरेसँगै ‘सुपर जम्बोजेट’को युग समाप्त भएको छ । एयरबसले आफ्नो उत्पादनको २५१ जहाज हस्तान्तरण गरेसँगै अब नयाँ एयरबस ए–३८० बनाउने छैन । सुपर जम्बोजेटको सबैभन्दा ठूलो अपरेटरको रुपमा इमिरेट्सले १२३ औं जहाज डेलिभरी लिएको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवामा ९५ प्रतिशत बजार हिस्सा अमेरिकी विमान निर्माता कम्पनी बोइङ र युरोपेली विमान कम्पनी एयरबसले ओगटेका छन् । अमेरिकी कम्पनी बोइङले सुरुवाती वर्षहरुमा एकछत्र राज गरेता पनि पछिल्लो समय युरोपीयन विमान कम्पनी एयरबसले आफ्नो बजार हिस्सा व्यापक बढाएको छ ।

जम्बोजेटको रुपमा बोइङ–७४७ ले धेरै वर्ष विश्व आकाशमा राज गरेको थियो । एक पटकमा सबैभन्दा धेरै यात्री बोक्न सक्ने जहाजको उपाधि प्राप्त जम्बोजेट करिब ५ दशकसम्म यात्रुहरुको पहिलो रोजाइमा पर्न सफल रह्यो । तर, हवाई इन्धनको मूल्यमा भएको व्यापक वृद्धि तथा जहाजले गर्ने प्रदुषणको विषयमा व्यापक चर्चा हुन थालेसँगै बोइङले सन् २००५ बाट आफ्नो जम्बोजेटको प्यासेन्जर भेरियन्ट सदाको लागि बन्द गर्यो । कम्पनीले यसको कार्गो भेरियन्टको पनि अन्तिम डेलिभरी आगामी अक्टुबरमा गर्दैछ । त्यसपछि बोइङले ठूलो जहाज बनाउने छैन ।

बोइङको जम्बोजेटले पाएको बजार हेरेर आकर्षित एयरबस कम्पनीले पनि ठूलो साइजको जेटको निमार्णमा सन् १९८८ बाटै कसियको थियो । एयरबसले सन् १९९० मा नयाँ लामो दुरीको सुपर जम्बोजेटको घोषणा गरेको थियो । यो प्रोजेक्टको उत्पादनका सन् २००० मै १०.७ बिलियन डलर लगानी घोषणा गरेको थियो । कम्पनीले सन् २००५ मा पहिलो पटक ए–३८० सुपर जम्बोजेटको प्रोटोटाइपलाई परिक्षण उडान गरेको भएता पनि इलेक्ट्रीक वाइरिङमा समस्या आएका कारण दुई वर्ष यसको उत्पादन धकेलिएको थियो । एयरबसले २००७ को अक्टुबरमा मात्र पहिलो जहाज सिंगापूर एयरलायन्सलाई हस्तान्तरण गरेको थियो ।

नामनै ‘सुपर जम्बो जेट’ भएकाले यो जहाज साना एयरपोर्ट भएको सहरमा उडाउन मिल्दैन थियो । भारत जस्तो देशमा पनि मात्र ४ वटा एयरपोर्टमा यो जहाज ल्याण्ड गर्न सक्छ । याे जहाजमा ४ वटा विशाल इन्जीन रहेकाे छ । यसकाे लम्बाई २३८ फिट, विण्ङस्प्यान २६१ फिट, चौडाई २३.७ फिट तथा ७९ फिट उचाइ रहेको छ । खाली जहाजको तौल मात्र २ लाख ७७ हजार १४५ केजी छ । यो जहाजले ५ लाख ७५ हजार केजी तौल बोकेर टेकअफ गर्ने क्षमता राख्छ । यसको म्याक्सीमम स्पीड ९०३ किलोमिटर प्रतिघण्टा छ भने यसले एक पटकमा १४ हजार ८०० किलोमिटरको दूरी तय गर्न सक्छ ।

यो जहाजमा एक पटकमा ५२५ यात्रुले यात्रा गर्न सक्छन् । तर, यसमा सबै सिट इकोनोमी क्लासको राख्ने हो भने ८५३ यात्रुलाई उडाउन सक्नेछ । यो जहाज नै विश्वकै सबैभन्दा धेरै प्यासेन्जर बोक्ने क्षमताको जहाज हो ।

भित्र दुई तला रहेकोले जहाज निकै आकर्षक रहेको छ । यसको माथिल्लो तल्लामा जानका लागि दुईवटा भर्याङ रहेका छन् । यो जहाजमा ५० प्रतिशत कम क्यावीन नोइज, ५० प्रतिशत बडी क्याविन एरिया तथा ठूलो साइजको विण्डो तथा ओभर हेड विन रहेको छ । यसको उत्पादनसँगै विश्वका प्रमुख हवाईसेवा प्रदायक कम्पनीहरुले यसलाई खरिद गरेका थिए । यसको उत्पादन सबैभन्दा बढी सन् २०१२ र २०१४ मा वार्षिक ३० वटाको दरले भएको थियो ।

एल्मुनीयम अलोय तथा २० प्रतिशत भन्दा बढी कम्पोजीट मेटिरीयलको प्रयोगले यो जहाजको एयरफ्रेम बनेको छ । कार्बन फाइबर रि–इन्फोस्ड प्लाष्टीक, ग्लास फाइबर रि–इन्फोस्र्ड प्लाष्टीक, क्वाज्ड फाइबर रि–इन्फोस्ड प्लाष्टीक आदि मेटेरियलको प्रयोगले यो जहाज तुलनात्मक रुपमा हलुको छ । फलस्वरुप यस जहाजको प्रति सिट फियूल खपत एकदमै कम रहेको छ । टेकअफ र ल्याण्डिङ एकदमै स्मुद हुने भएकोले यात्रुहरुले यो जहाज अत्याधिक मन पराएका छन् ।

यो जहाजलाई विभिन्न कम्पनीहरुले आफ्नो बजार अनुसार फरक फरक इन्टेरियर डिजाइनमा बनाएका छन् । नियमित तीनवटा क्लासको सर्भिसलाई अझ बढाएर कम्पनीहरुले ए–३८० मा फस्टक्लास सिटबेड, सोफा लाउन्ज, इलेक्ट्रोनीक आर्ट ग्यालरी, सावर स्पा, रेसिडेन्ट सुइट, अनबोर्डबार जस्ता सुविधा राखेका छन् ।

ए–३८० सुपर जम्बोजेटको सबैभन्दा ठूलो अपरेटर यूएईको इमिरेट्स एयरलायन्स हो । कम्पनीसँग १२३ वटा यस्ता जहाज अपरेसनमा रहेका छन् । तर १२३ औं जहाजको डेलिभरी भएसँगै यो जहाजको उत्पादन भने अब बन्द हुनेछ । लामो रुटका प्यासेन्जको संख्यामा कमी आएका कारण तथा साना जहाजले पनि लामो दुरी तयगर्ने क्षमताको विकाससँगै यसको माग नै हुने छाडेकाले एयरबसले विश्वको सबैभन्दा ठूलो यात्रु वाहक जहाजको उत्पादन बन्द गर्नु परेको जनाएको छ ।

उत्पादन रोकियता पनि यो मोडलको जहाज अझै १५/२० वर्ष विश्व आकाशमा उडानभरी रहेको हुनेछ । विश्वका चर्चित एयरलायन्सहरु सिंगापूर एयरलायन्स, इमिरेट्स, क्वानटास, कोरियन एयर, चाइना साउदन एयरलायन्स, मलेशियन एयरलायन्स, थाई एयरवेज, ब्रिटिस एयरवेज, आसियाना एयरलायन्स, कतार एयरवेज, इतिहाद एयरवेज तथा अल निप्पोन एयरवेजसँग यो मोडलको जहाज रहेको छ । एयर फ्रान्स, हाइफ्लाइ माल्टा तथा लुफ्थान्सा एयरले भने यो जहाज विक्री गरिसकेका छन् ।

अत्याधुनिक फ्लाई बाइ वायर टेक्नलोजीको प्रयोग भएको यो जहाज एकदमै सुरक्षीत जहाजको रुपमा मानिन्छ । हालसम्म करिब १६ वर्षे हवाई उडानमा यो जहाज कुनै पनि दुर्घटना नपर्नुले यसको विश्वसनीयता पुष्टी गरेको छ । सन् २०१० मा क्वान्टर एयर तथा सन् २०१७ मा एयर फ्रान्सको फ्लाइटमा सामान्य समस्या आएता पनि कुनै भौतिक तथा मानविय क्षती भएको थिएन ।


Back_to_top