काठमाडौं । नेपाली बजारमा दुई यूरोपियन ब्राण्डका रेट्रो स्कुटर विक्री हुँदै आएको छ । भेष्पा र बेनेलीले अहिले रेट्रो स्कुटर विक्री गर्दै आएका छन् । यी दुबै ब्राण्ड इटालीको हो ।
बेनेलीले नेपाली बजारमा हालै मात्र १२५ सीसी सेग्मेन्टमा ‘प्यानेरीया’ स्कुटरको विक्री सुरु गरेको छ । कम्पनीले विक्री सुरु गरेको प्यानेरीयाले भेष्पा स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।
यूरोपियन डिजाइनका यी दुई स्कुटरमा धेरै कुरा समान रहेपनि पावर, साइज र माइलेजमा मुख्य फरक पाउन सकिन्छ । नेपाली बजारमा उपलब्ध यी दुई रेट्रो डिजाइनमा आधारित दुई स्कुटरबीच रहेका तुलनात्मक भिन्नता यसप्रकार छन् ।
इन्जिन
बेनेली प्यानेरीयामा १२५ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम ८.५ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ९० किलोमटिर प्रतिघन्टा छ ।
भेष्पा एसएक्सएल १२५ मा १२४.५ सीसी सिंगल सिलिन्डर ३ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम ९.९ पीएस पावर तथा ५००० आरपीएममा अधिकतम ९.६ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा छ । पावर र टर्कको हिसावले हेर्दा भेष्पा अगाडि देखिन्छ ।
साइज
बेनेली प्यानेरीयाको लम्वाई १८२५ एमएम, चौडाई ६८५ एमएम, ह्वीलवेस १२७० एमएम, सिट हाइट ७८० एमएम र यसको ग्राउन्ड क्लियरेन्स १२५ एमएम रहेको छ । यसको कुल तौल १०४ किलोग्राम छ ।
त्यस्तै भेष्पा एसएक्सएलको लम्वाई १७७० एमएम, चौडाई ६९० एमएम, ह्वीलवेस १२९० एमएम, सिट हाइट ७७० एमएम र यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम रहेको छ । यसको कुल तौल ११४ किलोग्राम छ ।
इन्धन
बेनेली प्यानेरीयामा ४.६ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ भने यो स्कुटरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । त्यस्तै भेष्पा एसएक्सएलमा ६.५ लिटको इन्धन ट्याङक छ । यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
ब्रेक/सस्पेन्सन
बेनेली प्यानेरीयामा १२ इन्चको अलोय ह्वील रहेको छ भने यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध छ । त्यस्तै भेष्पाको अगाडि ११ र पछाडि १० इन्चको अलोय ह्वील उपलब्ध छ भने, यसमा बेनेलीमा जस्तै अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ ।
सस्पेन्सनमा बनेलीको अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन रहेको छ । त्यस्तै भेष्पा आगाडि हाइड्रोलिक सिंगल साइडआर्म सस्पेन्सन र पछाडि हाइड्रोलिक सक एव्जर्भरहितको डबल इफेक्ट सस्पेन्सन रहेको छ ।
फिचर
झट्ट हेर्दा उस्तै उस्तै देखिने यी दुबै स्कुटरमा एलइडी हेडल्याम्प, सेमी डिजिटल कन्सोल, ट्युवलेस टायर, इन्जिन किल स्वीच, एलइडी इन्डिकेटर, फ्रन्ट स्टोरेज स्पेस, अन्डरसिट स्टोरेज जस्ता समान फिचर रहेको छ ।
मूल्य
यी दुबै स्कुटरको मूल्य समान जस्तै रहेको छ । भेष्पाको एसएक्सएल १२५को मूल्य ३ लाख ३७ हजार ९०० रुपैयाँ र बेनेली प्यानेरीयाकोे मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ ।

