काठमाडौं । यात्री इलेक्ट्रीक स्कुटरको पहिलो सोरुम आजबाट संचालनमा आउने भएको छ । काठमाडौंको बालुवाटारमा यात्री मोटरसाइकल कम्पनीले आफ्नो पहिलो शोरुम संचालनमा ल्याउन लागेको हो ।
हाल कम्पनीले आफ्नो आधिकारिक वेबसाइट मार्फत यात्री पी-१ को विक्री गर्दै आएको छ । कम्पनीका अनुसार उक्त शोरुममा दुई मोडलका मोटरसाइकल डिस्प्ले तथा विक्री गरिने छ ।
कम्पनीले यात्री पी-० र पी-१ को विक्री गर्ने जनाएको छ । कम्पनीले बनाएको यात्री पी-० भने लिमिटेड एडिशन हो । यात्री पी-० को मूल्य १९ लाख ४९ हजार र पी-१को मूल्य ४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
यात्री पी १ लाई ग्राहकले आफ्नो चाहाना अनुसारको फिचर तथा कलरको प्रयोग गरेर किन्न सक्ने छन् । यात्री पी १ बेस भेरियन्टको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण भएको छ भने, ग्राहकले आफ्नो चाहना अनुरुप फिचर थप गर्दा फिचर अनुसारको मूल्य वृद्धि हुनेछ ।
यसमा ग्राहकले बुस्ट प्याक थप गरेर लिँदा यसको मूल्यमा थप ११ हजार ८०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । बुस्ट प्याकको प्रयोगले मोटरसाइकलको ०-६० को स्पीड बेस भेरियन्टको तुलनामा राम्रो हुन्छ । यसको स्र्पोकेट ८० टी रहेको छ । बेस भेरियन्टमा ७२ टी स्र्पोकेट रहेको छ ।
त्यस्तै ‘स्टपी प्याक’ नामक फिचर थप गरेर लिँदा ग्राहकले १२ हजार रुपैयाँ थप तिनुपर्ने हुन्छ । यसमा ग्राहकले ३२० एमएमको क्यालिपर डिस्क ब्रेक पाउने छन् । बेस भेरियन्टमा भने २४० एमएमको डिस्क ब्रेक रहेको छ । स्टपी प्याकको ब्रेकिङ क्षमता उच्च रहेको छ ।
त्यसैगरी अर्को फिचरमा ‘डिजिटल स्र्टाटअप प्याक’ रहेको छ । यसको बेस भेरियन्टमा ग्राहकले रेगुलर क्लासिक ‘की’ पाउने छन् । यसको डिजिटल प्याकमा भने ग्राहकले की-लेस स्र्टाट फिचर उपलब्ध हुनेछ । यसका लागि ग्राहकले थप १८ हजार ७०० रुपैयाँ तिनु पर्ने हुन्छ ।
ग्राहकले माथि उपलब्ध सबै फिचरसहितको यात्री पी-१ खरिद गर्दा ५ लाख ३७ हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसका साथै ग्राहकले माथिका कुनै एक वा दुई फिचर थप गरेर पनि मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
यात्री पी-१ मा १० कलर अप्सनमा रहेको छ । ग्राहकले बडी प्यान, सिट र सस्पेन्सनमा आफ्नो इच्छा अनुसारको कलर छनोट गर्ने सुविधा पाउने छन् ।

