काठमाडौं । यातायात व्यवस्था विभागले ढिलोगरी लाइसेन्स नविकरण गर्न जाने सेवाग्राहीबाट ५०० प्रतिशतसम्म जरिवान लिने गरेको छ । लाइसेन्स भएका मानिसले मिति नाघेको ९० दिन भित्र नविकरण गर्न गए कुनै जरिवाना तिर्नु पदैन ।
त्यसपछि भने पहिलो वर्ष १०० प्रतिशत, दोस्रो वर्ष २०० प्रतिशत, तेस्रो वर्ष ३०० प्रतिशत, चौथो वर्ष वितेपछि ४०० प्रतिशत र पाँच वर्षपछि ५०० प्रतिशतसम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।
यातायात व्यवस्था विभागका अनुसार एउटा लाइसेन्सको आयु १० वर्ष हुन्छ । त्यसमध्ये सुरुमा ५ वर्षसम्म नविकरणको लागि जानु पर्दैन । अर्को ५ वर्ष नविकरणमा नजानेले हरेक वर्ष १०० प्रतिशतका दरले जरिवान थप्दै नविकरण गर्न सक्छन् । ५ वर्ष कटेपछि भने लाइसेन्स स्वतः खारेज हुन्छ ।
यातायात व्यवस्था विभागले लाइसेन्स नविकरण शुल्क वापत २ हजार रुपैयाँ तिर्नु पर्छ । तर, ५ वर्षपछि नविकरणमा जाँने हो भने १२ हजार रुपैयाँ बुझाउनु पर्छ । यसले धेरै सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।
‘सरकारले दिने लाइसेन्स २/३ वर्षसम्म प्रिन्ट गरेर दिन नसक्ने यातायाता व्यवस्था विभागले नविकरणमा भने ५०० प्रतिशतसम्म जरिवाना लगाउनु नागरिकलाई बोझ थप्नु हो’, यातायात कार्यालयमा भेटिएका लतितपुरका कृष्ण कार्कीले मेरोअटोसँग भने ।
यातायात कार्यालयमा लाइसेन्स नविकरण गर्न जानै नपरे हुन्थ्यो भन्ने हरेक चालकलाई लाग्छ । त्यहाँ हुने भिड र सरल तरिकाले सेवा लिन नसक्ने अवस्था सृजना गरेर उल्टै ५०० प्रतिशत फाइन लगाउने सरकारी नीति धेरैलाई घाँडो लाग्न सक्छ ।
तीन वर्षपछि ड्राइभिङ लाइसेन्स नविकरण गर्न रुपन्देही पुगेका महेन्द्र श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘मैले तीन वर्षपछि तिर्न जाँदा ६ हजार जरिवाना तिरे, तपाई समयमै तिरेर जरिवाना बचाउनुस् ।’

त्यसैले १५ सयदेखि २ हजार रुपैयाँ तिरेर नविकरण गर्न सकिने लाइसेन्स समयमा नविकरण गर्दा चर्को जरिवाना तिर्नु पर्ने हुन सक्छ ।


