६ महिनामै नेपाल आयो ११ सय यूनिट इलेक्ट्रीक कार, चीनबाट सबैभन्दा धेरै

काठमाडौं । विद्युतीय कारको लागि चालु आर्थिक वर्ष निकै फलिफाप देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न देशबाट एक हजार १०३ यूनिट विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिएको हो ।

मंसिर मसान्तसम्मको ५ महिनामा ९१३ यूनिट विद्युतीय कार आयात भएकोमा पुष महिनामा १९० यूनिट गाडी आयात भएको हो ।

चालु आवको ६ महिनामा सबैभन्दा धेरै इलेक्ट्रीक गाडी चीनबाट आयत भएको देखिन्छ । यस अवधिमा चीनबाट विभिन्न कम्पनीका ७३४ यूनिट विद्युतीय गाडी आयात भएका छन् । चीनबाट आयात हुनेमा सबैभन्दा धेरै एमजी जेडएस इभी रहेको छ भने त्यसपछि दोस्रो स्थानमा बीवाइडी रहेको छ ।

त्यसैगरी भारतबाट आयात हुने इभीको संख्या पनि २६३ यूनिट पुगेको छ । यी सबै गाडी टाटाको नेक्सन इभी हो ।

त्यसैगरी कोरियाबाट ६२ यूनिट, जापानबाट २८ यूनिट, अमेरिकाबाट १५ यूनिट र फ्रान्सबाट १ यूनिट इलेक्ट्रीक गाडी आयात भएका छन् । कोरियाबाट हुन्डाई र किया, जापानबाट निसान लिफ, फ्रान्सबाट प्यूजो र अमेरिकाबाट टेस्लाका कार आयात भएका हुन् ।


Back_to_top