३ करोडको इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको प्रयोगकर्ता बढेसँगै विश्वभर उत्पादन भएका लग्जरी कार पनि नेपाल आउने थालेका छन् । पछिल्ला महिनामा ३ करोड हारहारी मूल्य रहेको टेस्लाको मोडल एक्स पनि आयात हुन थालेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा २ वटा टेस्ला मोडल एक्स नेपाल आएको छ । क्रसओभर सेडान डिजाइनमा आउने मोडल एक्स सिधै अमेरिकाबाट आयात भएको हो ।

टेस्ला मोडल एक्समा स्ट्याडर्ड रुपमा दुईवटा मोटर रहेको छ । अगाडि एक्सलमा २४५ किलोवाट र पछाडि एक्सलमा १९३ किलोवाटको मोटर रहेको छ । यसमा रहेको दुबै मोटरको कम्बाइन्ड पावर ६७० हर्सपावर प्रदान गर्छ । अल ह्वील ड्राइभ यो कारले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड केबल २.६ सेकेन्डमा भेट्टाउँछ ।

टेस्लाले मोडल एक्समा १०० किलोवाट आवरको व्याट्री दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ५६१ किलोमिटरसम्म गुडाउन सकिन्छ । यसलाई घरायसी विजुलीबाट चार्ज गर्दा फुल चार्ज हुन करिब ३० घन्टा लाग्छ ।

निकै शक्तिशाली यो कारले सन् २०१८ मा मेलवर्न एयरपोर्टमा १ लाख ३० हजार केजी वजन भएको बोइङ ७८७ लाई १०० फिटसम्म तानेर विश्व रेकर्ड राखेको थियो । दुबैतर्फ माथि उठेर खुल्ने ‘फाल्कन व्याक डोर’ रहेको यो कार निकै स्टाइलिस डिजाइनमा तयार भएको छ ।

कारको अगाडि ड्यासबोर्डमा निकै ठूलो स्कृन दिइएको छ । कारमा कुनै पनि फङ्सन चलाउन सुइच दिइएको छैन । सबै फङ्सनहरु टचस्कृनको सहायतले कन्ट्रोल गर्नु पर्छ ।

यो कारको चारवटै ढोकाहरु खोल्न र बन्दगर्न ह्याण्डल चलाइरहनु पर्दैन सबै टच वटम थिचेरै गर्न सकिन्छ । कारको ड्राइभर सिटबाट यसको २२ एमएमसम्म सस्पेन्सन बढाउन सकिन्छ । सात सिटसम्म प्रयोग गर्न मिल्ने यो कारको अन्तर्राष्ट्रिय मूल्य १ लाख डलरभन्दा बढि रहेको छ । नेपालमा आयात गर्दा भन्सार बाहेक १ करोड २८ लाखको मूल्याङ्कन भएको देखिन्छ ।


Back_to_top