टीभीएस रेडर किन्ने कि होन्डा साइन ? यस्ता छन् ५ भिन्नता

काठमाडौं । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा सिबी साइनले एकछत्र राज गरी रहेको छ । १२५ सीसी सेग्मेन्टमा अन्य ब्रान्डका धेरै मोटरसाइकल उपलब्ध भएपनि होन्डा साइनसँग विक्री संख्यामा प्रतिस्पर्धा गर्ने मोडल तयार छैन ।

तर, टीभीएसले केही महिना अघि नेपाल ल्याएको रेडरले राम्रै प्रतिस्पर्धा गर्ने छाँट देखाएको छ । होन्डाले साइन विक्री सुरु भएको १५ वर्ष पुरा भएको छ । नेपाल आएदेखि नै साइन आफ्नो सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोटरसाइकल बन्दै आएको छ ।

होन्डा सिबी साइन भारतमा उत्पादनको १५ वर्ष र विक्रीको एक करोड यूनिट पुरा गर्न सफल भएको मोडल हो । यस्तोमा बजारमा थपिएको नयाँ प्रतिस्पर्धी रेडर र सिबी साइन बीचको तुलनात्मक भिन्नता केलाउनु उचित हुन्छ ।।

लुक्स

होन्डा सिबी साइन ट्रेडिसनल लुक्समा तयार भएको मोडल हो । कम्पनीले विगत १५ वर्षमा यसमा ठूलो परिवर्तन गरेको छैन । निरन्तर सफलता साइनको सबैभन्दा बलियो पक्ष मानिन्छ । त्यहि कारण पनि कम्पनीले यसको लुक्समा परिवर्तन नगरेको हुनसक्छ । त्यसको फाइदा अहिले पनि होन्डालाई भइरहेको छ ।

त्यसको ठिक उल्टो टीभीएस रेडर मोर्डन र एग्रेशिभ डिजाइनमा तयार भएको मोडल हो । १२५ सीसी सेग्मेन्टमा नयाँ डिजाइन चाहनेहरुको मन रेडरले जित्न सक्छ । झट्ट हेर्दा १५० सीसी सेग्मेन्टको जस्तै देखिने रेडर साइनसँग प्रतिस्पर्धा गर्न तयार देखिन्छ ।

पावर

समान १२४ सीसी क्षमताका इन्जिन उपलब्ध यी दुई मोटरसाइकलमा टीभीएस रेडरमा बढी पावर भएको इन्जिन उपलब्ध छ । होन्डा सिबी साइनमा रहेको इन्जिनले ७५०० आरपीएममा १०.१६ बीएच पावर तथा ५५०० आरपीएममा १०.३० एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी टीभीएस रेडरमा रहेको इन्जिनले अधिकतम १२.९ पीएस पावर तथा ११.५ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

माइलेज

होन्डा सीबी साइन माइलेजक किङग भनेर चिनिने मोटरसाइकल हो । यसको फाइदा सिबी साइनलाई हुन्छ । साइनमा १०.५ लिटरको फ्युल ट्याङक रहेको छ । साइनले प्रतिलिटर ६४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो मोटरसाइकल उपत्यकामा चलाउँदा पनि ५० किलोमिटरको माइलेज पाउन सकिन्छ ।

टीभीएस रेडर पावरफुल इन्जिन भएपनि माइलेज पनि राम्रो पाउन सकिने मोटरसायकल हो । कम्पनीले ६० किलोमिटर माइलेज दावी गरेको छ । तर, जस्तोसुकै अवस्थाको सडकमा चलाउँदा पनि यसले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिन्छ । यसमा १० लिटर क्षमताको फ्युल ट्याङक दिइएको छ ।

फिचर

फिचरको तुलना गर्दा टीभीएस रेडर अगाडि रहेको छ । होन्डा सीबी साइनमा सेमी डिजिटल कन्सोल, डिस्क तथा ड्रम ब्रेक, एलइडी डीआरएल, सिंगल पिस सिट जस्ता फिचर रहेको छ ।

टीभीएस रेडरमा फुल डिजिटल कन्सोल, गियर इन्डिकेटर, टप स्पीड रेकर्डर, हेलमेड रिमान्डर, युएसबी चार्जर, एलइडी लाइट्स जस्ता फिचर रहेको छ ।

मूल्य

होन्डा सिबी साइन नेपाली बजारमा ४ भेरियन्टमा विक्री भइरहेको छ । साइनको टप भेरियन्ट सिबी साइन एसपीको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ ।

एकमात्र भेरियन्टमा नेपाली बजारमा विक्री भइरहेको टीभीएस रेडरको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top