कुन कम्पनीले कहाँ–कहाँ राखेका छन् ‘चार्जिङ स्टेशन’ (सूचीसहित)

काठमाडौं । अहिले सर्वाधिक चर्चामा रहेको विषय विद्युतीय गाडीको चार्जिङ स्टेशन हो । विद्युतीय गाडीको आक्रमक विक्रीमा लागेका एमजी, हुन्डाई, बीवाइडी, टाटा, किया जस्ता ब्राण्डले चार्जिङ नेटवर्क निर्माणमा पनि काम गरिरहेका छन् ।

अहिले सिमित ग्राहक भएको कारण कम्पनीहरुले एउटा मात्रै पोर्ट राखेर चार्जर राखेको देखिन्छ । तर, बजारमा सवारी साधनको संख्या तिव्र गतिमा विस्तार हुँदै जाँदा यसरी गाडी विक्रेताले लगाउने चार्जिङ नेटवर्कले धान्न सक्ने अवस्था रहँदैन ।

अहिले बीवाइडले सबै स्थानमा ४० किलोवाट क्षमताको चार्जर लगाएको छ भने टाटाले ९ स्थानमा ३० किलोवाट क्षमताको चार्जर जडान गरेको छ । त्यसैगरी एमजीले २ स्थानमा ३० किलोवाट क्षमताको चार्जर राख्ने तयारी गरेको छ ।

यी बाहेक अन्य सबै चार्जर ७ किलोवाट क्षमताका हुन् । त्यसमा हुन्डाईले सबै भेगमा आफ्नो उपस्थिति बलियो बनाएको देखिन्छ भने टाटाले एसी चार्जरमा लिडर बन्ने योजना तयार गरेर चार्जर जडान गरिरहेको छ ।

अहिले सरकारी निकायले पनि भैरहवामा देशकै ठूलो चार्जिङ नेटवर्क तयार गरेको छ । लुम्बिनी विकास कोषको हातामा र भैरहवा एयरपोर्टमा चार्जिङ सेन्टर पाउन सकिन्छ । त्यस्तै इलेक्ट्रिक बस सँचालन गरिरहेकाे सुन्दर यातायातले आफ्नो ग्यारेजमा र दिगाे यातायातले पनि हाइवेका केहि ठाउँमा चार्जिङ स्टेसन बनाएका छन् ।  यस्तोमा चार्जिङ नेटवर्क विस्तारमा लागेका ४ कार कम्पनीको अवस्था हामीले यहाँ समेटेका छौं ।

बीवाइडी 

नेपालमा ठूला विद्युतीय गाडी विक्री गर्ने पहिलो कम्पनी बीवाइडीले पनि उपत्यका लगायतका विभिन्न ९ स्थानमा चार्जिङ नेटवर्क विस्तार गरेको छ । कम्पनीले लगाएको सबै चार्जर ४० किलोवाट क्षमताको हो ।

अहिले बीवाइडीले बौवा होटल बर्दिवास, चितवनको बीवाइडी शोरुम, वेलवारी इटहरी, प्राधिकरण कार्यालय पोखरा, बीवाइडी शोरुम दाङ, नमस्ते भिलेज रिर्सोट नेपालगंज, डुम्म्रेको पेट्रोल पम्प र कुस्मा बजारमा जार्जिङ स्टेशन संचालनमा रहेको छ ।

हुन्डाई

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशका विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध गराएको छ । कम्पनीले उपत्यका भित्र मात्रै ९ स्थानमा चार्जर जडान गरेको छ । यी सबै चार्जर ७ किलोवाट क्षमताका हुन् ।

कम्पनीले उपत्यकाको थापाथली स्थित इभी शोरुम र हुन्डाई सेल्स थापाथली, तिनकुनेमा रहेको सर्भिस सेन्टर, कुपण्डोल सर्भिस सेन्टर, धापासी सर्भिस सेन्टर, भक्तपुर सर्भिस सेन्टरमा चार्जर राखेको छ । साथै, पुल्चोकमा रहेको लाविम मल, न्यू शिब सर्भिस सिनामंगल र हुन्डाई सेल्स नक्सालमा उपलब्ध रहेको छ ।

कम्पनीले उपत्यका बाहिर सबैभन्दा धेरै स्थानमा चार्जिङ स्पट पोखरामा बनाएको छ । पोखरामा रहेको बाराही सर्भिस सेन्टर, विन्ध्या सर्भिस सेन्टर, पोखरा ग्राण्ड होटल, वाटर फ्रन्ट होटल र होटल बाराहीमा हुन्डाईले चार्जिङ स्टेशन लगाएको छ ।

त्यसैगरी हुन्डाईले रोयल अटो वर्ल्ड बिराटनगर, एलायन्स मोटर्स विर्तामोड, पाथिभरा अटो लिंक इटहरी, होटल नेपालीरिका बिराटचोक, होटल किङ्गस्बुरी विर्तामोड, अर्किड मोटोकर्प विरगंज, होटल विश्व विरगंज, होटल डेभोटेड धनगढी, होटल पौवा भालुवाङ, पिनाकल सर्भिस भरतपुर, सिद्धार्थ रिसोर्ट चिसापानी, दिनेश फोर ह्वील धनगढी, सिद्धार्थ होटल धनगढी, हिम इन्टरकन्टिनेन्टल नेपालगन्ज, न्यू राइडर अटो वर्ल्ड दाङमा पनि चार्जिङ सुविधा उपलब्ध गराएको छ ।

साथै, सिद्धार्थ विनायक सर्भिस बुटवल, होटल डेफेलमिङगो बुटवल, जगत मोटर भैरहवा, बोदी रेड सन भैरहवा, रोयल सेन्चुरी होटल भरतपुर, केसीज् रेष्टुरेन्ट एण्ड होम सौराहा, अग्क्षित रेष्ट्रो मुलकोट, हेटौडा ह्वीलस् हेटौडा, एभकाडो एण्ड अर्किड रेष्टुरेन्ट हेटौडामा चार्जिङ नेटवर्क विस्तार गरेको छ ।

एमजी

अहिले एमजीले विभिन्न १३ स्थानमा ७ किलोवाटको एसी चार्जर जडान गरेको छ भने चाँडै ढल्केबगर र कुरिनटारमा ३० किलोवाट क्षमताको फस्ट चार्जर जडान गर्न लागेको जनाएको छ ।

एमजीले पोखरा र चितवनमा तीन/तीन स्थानमा चार्जर राखेको छ । पोखराको शोरुम, होटल ल्याण्डमार्क र ट्याम्पल ट्री रिसोर्ट एण्ड स्पामा ७ किलोवाटको चार्जर जडान गरेको छ ।

त्यसैगरी एमजीले चितवनको पनि ३ स्थानमा चार्जिङ प्वइन्ट राखेको छ । चितवनमा पनि एमजी शोरुम, ल्याण्डमार्क फरेष्ट पार्क होटल र रोयल सेन्चुरी होटलमा चार्जिङ उपलब्ध गराएको छ ।

एमजीले बुटवलको शोरुम, बिरगंजको मकालु होटल, बर्दिवासको गुन्ज होटल, ढल्केबगरको कोमल होटल, बिराटनगरको शोरुम, विर्तामोडको शोरुम र मुल्कोटको अक्क्षित रिसोर्ट एण्ड राफ्टिङमा चार्जिङ सुविधा उपलब्ध गराएको छ ।

पारामाउन्ट मोटर्सले जडान गर्न लागेको दुईवटा फास्ट चार्जर भने ढल्केबगरको कोमल होटल र कुरिनटारको रिभरसाइड रिसोर्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टाटा माेटर्स

सबैभन्दा पछि विद्युतीय कार नेपाल ल्याएको टाटाले सुरुवातमै ३० किलोवाट क्षमताको चार्जर जडान सुरु गरेको थियो । कम्पनीले देशका विभिन्न १५ स्थानमा यस्तो चार्जर लगाउने घोषणा गरे बमोजिम इटहरी, काठमाडौं, मुलकोट, ढल्केबगर, चुम्लीङ्गटार, पोखरा, हेटौंडा र भैरहवामा चार्जिङ स्टेशन संचालनमा आइसकेको छ भने यही फेब्रुअरी महिना भित्रै नारायणगढ र विर्तामोडमा संचालनमा आउने टाटा माेटर्सकाे आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

साथै, टाटाले आगामी ६ महिना भित्रै लमही, कोहलपुर, अत्तरिया र लाहानमा चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको छ । साथै कम्पनीले आवश्यक्ता अनुसार विभिन्न होटल, मल, रेष्टुरेन्ट, आफ्ना शोरुम, सर्भिस सेन्टरहरुमा १०० वटा ७ किलोवाट क्षमताको चार्जर राख्ने काम गरिरहेको जनाएको छ ।

 


Back_to_top