काठमाडौं । रेनोले सन् २०१२ बाट भारतमा उत्पादन सुरु गरेको डस्टरको उत्पादन बन्द गरेको छ । कम्पनीले १० वर्षअघि उत्पादन सुरु गरेको डस्टर सन् २०१७ को अन्तिम तिरबाट नेपाल पनि आयात हुँदै आएको थियो ।
रेनो डस्टर भारतमा सुरुवाती दिनमा निकै सफल मोडल रहेको थियो । रेनोले वर्षिक ४० हजार यूनिट हाराहारी डस्टर विक्री गर्ने गरेको थियो । सन् २०१२ देखि २०१६ सम्म भारतीय बजारमा निकै सफल डस्टर हुन्डाई क्रेटाको आगमनसँगै कमजोर भएको थियो ।
फ्रेन्च कार निर्माता कम्पनी रेनोले भारतमा यसको फेसलिफ्ट गरेपनि १० वर्षमा नयाँ जेनेरेशन मोडल भने ल्याएन । त्यसैको कारण सन् २०१८ पछि यसको विक्रीमा लगातार गिरावट आएको थियो ।
नेपाली बजारमा पनि सुरुवाती दिनमा निकै राम्रो संख्यामा विक्री भएको डस्टर त्यसपछि क्रमिक रुपमा कमजोर हुँदै गएको थियो । सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ सिस्टम भएको डस्टर अहिले पनि नेपाली सडकमा निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ ।
रेनोले डस्टरलाई सन् २०१४ बाट अल ह्वील ड्राइभ सिस्टममा ल्याएको थियो । सुरुमा १.६ लिटर पेट्रोल र १.५ लिटर के९के डिजेल इन्जिनमा आएको डस्टर नयाँ भारतीय प्रदुषण मापदण्डपछि थप संकटमा आएको थियो । कम्पनीले सन् २०२० मा १.३ लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याएको थियो । निकै पावरफुल इन्जिनमा ल्याएपनि सोचे जस्तो व्यापार गर्न सकेन ।
नयाँ जेनेरेशन डस्टरको तयारी भइरहेको समाचारहरु यस अघि आएपनि कम्पनीले आधिकारीक रुपमा केही बाहिर ल्याएको छैन ।


