२७ वर्षदेखि निरन्तर सफलता चुम्दै पहिलो क्रसओभर

काठमाडौं । सन् १९९४ देखि निरन्तर नेपाल आइरहेको विश्वकै पहिलो कम्प्याक क्रसओभर एसयूभी टायोटा र्‍याभफोर निकै सफल मोडल हो । नेपालमा करिब २ करोड हाराहारी मूल्य पुगिसकेको यो एसयूभी विश्व बजारमा भने सर्वाधिक विक्री हुने मोडल हो ।

टोयोटाले र्‍याभफोरलाई वार्षिक ११ लाखदेखि १३ लाख यूनिटसम्म विक्री गर्ने गरेको छ । संसारभर सिंगल मोडलमा सर्वाधिक विक्री हुने र्‍याभफोर टोयोटाले १९८९ बाट विकास सुरु गरेर सन् १९९१ मा डिजाइन अप्रुभल पाएको मोडल हो ।

सुरुमा थ्री डोर र सन् १९९३ मा फाइभ डोरको डिजाइन स्वीकृत भएको थियो । ठूलो कार्गो स्पेश, हाइ भिजीबीलीटी, फिउल इकोनोमी जस्ता कारण विश्वभर र्याभ फोरको माग उच्च रहँदै आएको छ ।

पहिलो जेनेरेशन

सन् १९९४ मा लन्च भएको पहिलो जेनेरेशन र्‍याभफोर थ्री डोर र फाइभ डोर अप्सनमा आएको थियो । टोयोटाले सुरुमा २.० लिटर इन्जिनको साथमा फाइभ स्पीड म्यानुअल र फोर स्पीड अटोमेटीक गियरवक्स दिएको थियो ।

र्‍याभफोरले सन् १९९७ मा अटोमोवाइल म्याग्जीनको ‘अटोमोवाइल अफ दी इयर’को अवार्ड पाएको थियो । पछाडि ढोकामा स्पेयर ह्वील दिइएकोले यसलाई स्पोर्ट एसयूभी जस्तै देखिन्थ्यो । त्यतिबेला यस मोडलको प्रतिस्पर्धा होन्डाको सीआरभी र फोर्डको स्केपसँग भएको थियो ।

सन् १९९७ मा र्याभफोर इलेक्ट्रीकमा पनि बनेको थियो । यसको इलेक्ट्रीक भर्सनमा २७ किलोवाट आवरको निकल मेटल हाइड्राइड व्याट्री दिइएको थियो । टोयोटाले यो व्याट्रीमा ९७ हजार किलोमिटरसम्मको वारेन्टी दिएको थियो ।

एक पटकको फुल चार्जमा १९३ किलोमिटर गुडाउन सकिने र्याभफोर इलेक्ट्रीकको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा थियो ।

दोस्रो जेनेरेशन

पहिलो जेनेरेशनले निकै ठूलो सफलता चुमेसँगै टोयोटाले सन् २००२ मा दोस्रो जेनेरेशन लन्च गरेको थियो । दास्रो जेनेरेशन फाइभ डोर अप्सनमा मात्रै आएको थियो । यसलाई पहिलोको भन्दा केही ठूलो बनाएर बजारमा उतारेको थियो । यो जेनेरेशनमा कम्पनीले १.८ लिटर, २.० लिटर र २.४ लिटरको तीनवटा पेट्रोल इन्जिन र २.० लिटर डिजेल इन्जिन अप्सन दिएको थियो । टोयोटाले सुरक्षाको लागि एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, एयर कन्डिसन, हाइट एट्जस्टेवल ड्राइभर सिट, क्रुज कन्ट्रोल, पावर मिरर जस्ता विशेषता दिएको थियो । सन् २००३ र २००४ मा यो जेनेरेशनको स्टाइलमा अपडेट भएको थियो ।

तेस्रो जेनेरेशन

र्‍याभफोरको तेस्रो जेनेरेशन मोडल पहिलो पटक सन् २००५ मा फ्रयाङफर्ट मोटर शोमा देखाएको थियो । अल न्यू प्लेटफर्ममा बनेको तेस्रो जेनेरेशन छोटो र लामो ह्वीलवेसमा उत्पादन भएको थियो ।

तेस्रो जेनेरेशनमा २.०, २.४, २.५ र ३.५ लिटरको पेट्रोल र २.२ लिटर डिजेल इन्जिन दिएको थियो । स्याट्लाइट न्याभीगेशन, टर्न इन्डिकेटर सहितको ओआरभीएम, रिभर्स क्यामरा, स्मार्ट किलेस इन्ट्री, पुसबटम स्टार्ट, कर्टेन एयरव्याग, मल्टी फङ्सन इन्सट्रुमेन्ट क्लस्टर जस्ता फिचर यसमा दिइएको थियो ।

यो जेनेरेशको र्‍याभफोर सन् २०१२ मा अल इलेक्ट्रीक भर्सनमा समेत उत्पादन भएको थियो । क्यालीफोर्नीयामा मात्र विक्री गर्ने इभी टेस्लासँगको सहकार्यमा बनाएको थियो । त्यतिबेला र्याभफोर इभी करिब २५ सय यूनिट विक्री भएको थियो ।

चौथो जेनेरेशन

चौथो जेनेरेशनमा आइपुग्दा र्‍याभफोर पूर्णत नयाँ डिजाइनमा परिणत भएको थियो । सन् २०१२ को लसएन्जलस अटो शोमा देखाइएको यो एसयूभीमा पछाडिको ढोका माथि खुल्ने भएको थियो । यसमा रहेको सपेयर ह्विल पनि हट्यो ।

टोयोटाले अघिल्लो जेनेरेशनमा जस्तो ३.५ लिटरको भीसीक्स इन्जिन पनि हटायो । यो जेनेरेशनमा हाइब्रिड सिस्टम समेत थप भएको थियो ।

पाँचौ जेनेरेशन

टोयोटाले सन् २०१८ को न्यूयोर्क इन्टरनेसनल अटो शोमा पाँचौ जेनेरेशन र्‍याभफोर देखाएको हो । यो जेनेरेशन प्लगइन हाइब्रिड भर्सनमा समेत उपलब्ध रहेको छ । नयाँ र्‍याभफोरमा नयाँ टेक्नलोजीको फिचरहरु एप्पल कारप्ले, अमेजन एलेक्सा, वायरलेस चार्जर फिचर जस्ता थप भए ।

स्टाण्डर्ड सेफ्टी फिचरको रुपम एडप्टीभ क्रुज कन्ट्रोल, फरवार्ड कोलुजन वार्निङ, अटोमेटिक ब्रेकिङ, लेन डिपार्चर वार्निङ थप भएको थियो । सन् २०२१ मा टोयोटाले र्याभफोरमा नयाँ एलइडी हेडलाइट, सिल्भर तथा व्ल्याक कलरको अलोय ह्वीलसहित फेसलिफ्ट गरेको थियो । जुन अहिले पनि बजारमा उपलब्ध रहेको छ ।


Back_to_top