काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रम आयोजनागरी फेसलिफ्ट जेडएस इभी सार्वजनिक गरेको हो ।
एमजीले नयाँ जेडएसमा ब्याट्रीमा व्यापक परिवर्तन गरेको छ । यसअघि ४४.५ किलोवाट आवरको ब्याट्री प्रयोग भएको जेडएसमा अब ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहेको छ ।
एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । नयाँ जेडएस इभी फेसलिफ्टमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन गरिएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्डमा पनि परिमार्जन गरेको छ ।

रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, रियर एसी भेन्ट, आई–स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ ।
यसमा दिइएको ५१ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४ सय किलोमिटर र ७२ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने बताइएको छ । तर, डब्लूएलटीपीको सडक परिक्षणमा यसको सानो ब्याट्रीले ३१९ र ठूलो ब्याट्रीले ४४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।
कम्पनीले ५१ किलोवाट क्षमताको ५१ लाख ९९ हजार र ७२ किलोवाट क्षमताको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।



