काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधनको बजार बढेसँगै मूलधारका मोटरसाइकल निर्माता कम्पनीहरू इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको उत्पादनतर्फ उन्मुख हुन थालेका छन् । यसै क्रममा होन्डाले इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी थालेको हो ।
यसअघि नै भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटरको विक्री गर्दै आएका छन् । हाल सीमित संख्यामा उत्पादन हुँदै आएको बजाज र टीभीएसको इलेक्ट्रीक स्कुटर अब कम्पनीले यसको उत्पादन बढाउने घोषणा गरिसकेका छन् ।
त्यस्तै यामाहा, सुजुकी, केटीएम, हस्कभर्ना जस्ता कम्पनीहरूले इलेक्ट्रीक स्कुटर निर्माण तथा परीक्षणको चरणमा पुगिसकेका छन् । यस्तोमा होन्डा इन्डियाले अर्को वर्ष बजारमा उतार्ने गरी इलेक्ट्रीक स्कुटर उत्पादनमा अगाडि बढ्ने भएको हो ।
भारतमा होन्डा एक्टिभा कम्पनीको सर्वाधिक सफल स्कुटर रहेको छ । कम्पनीले एक्टिभा ब्राण्ड नेममा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने अनुमान गरिएको छ । यसले कम्पनीलाई आफ्नो चर्चित स्कुटरको इलेक्ट्रीक भर्सनलाई ग्राहकमाझ चिनाउन मद्दत गर्ने होन्डा इन्डियाका निर्देशक अत्सुसी ओगाटाले बताएका छन ।
भारतीय बजारमा एआरएआइको परीक्षणको क्रममा एकपटक होन्डाको इलेक्ट्रीक स्कुटर ‘बेन्ले इ’ देखिएको थियो । यो स्कुटर जापानमा हाल विभिन्न भेरियन्टमा विक्री हुँदै आएको छ ।
होन्डाले भारतमा उत्पादन गर्ने इलेक्ट्रीक स्कुटरमा स्वापएबल ब्याट्री हुने अनुमान गरिएको छ । हान्डाले ब्याट्रीका लागि नयाँ प्लान्ट निर्माण गरिसकेको छ । कम्पनीले बैंगलुरुमा १३५ करोडको लगानी प्लान्ट निर्माण गरको हो ।


