काठमाडौं । नेपाल बनेको हेलमेट र लेगगार्डले सीइ सर्टिफाइड मान्यता पाएको छ । नेपालमा उत्पादित यति ब्राण्डको हेलमेट र लेगगार्डले ‘यूरो ग्लोबल सर्टिफिकेट’ (सीइ) मान्यता प्राप्त गरेको हो ।
बुटवलमा रहेको मयूर स्टील कम्पनीले उत्पादन गरेको हेलमेट र लेगगार्डले सुरक्षित रहेको प्रमाणपत्र पाएसँगै नेपालले ठूलो धनरासी खर्च गरेर हेल्मेट तथा लेगार्ड आयात गर्नु पर्ने बाध्यता केही भएपनि कम हुने भएको छ । मयूर स्टील इन्डष्ट्रिको यती ब्रान्डमा उत्पादन भएको हेलमेट ‘आइएसओ सर्टिफाइड’ रहेको छ भने अब यतीका हेलमेट आइएसओसहित सीइ सर्टिफाइड भएकाे हाे । यसले यतीका हेलमेटलाइ अझै सुरक्षीत भएको पुष्टि गरेको छ ।

कम्पनीले हाफ, फुल तथा मोटोक्रस हेलमेटहरु उत्पादन गर्दै आएको छ । हालैमात्र कम्पनीले मोटोक्रस हेलमेट तथा प्रिमियम फुल हेलमेटसमेत बजारमा ल्याएको थियो ।

‘हामी दैनिक एक हजार दुई सय यूनिट हेल्मेट उत्पादन गरिरहेका छौं । हाम्रा हेल्मेट आइएसओ सर्टिफाइड छन् भने मूल्य पनि निकै सुलभ राखेका छौं । हामीले भर्खरै मात्र यूरो ग्लोबल सर्टिफिकेशन समेत पायौं’, आवास ग्रुपका अध्यक्ष महेश थैवले भने ।
थैवका अनुसार यतीका उत्पादन विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको छ । यती ब्रान्डका हेलमेटको मूल्य १ हजार १०० देखि ७ हजार ५०० रुपैयाँसम्म कायम भएर विक्री हुँदै आएका छन् ।
कम्पनीले मोटरसाइकलका लागि उत्पादन गर्दै आएको लेगगार्ड समेत आइएसओ तथा यूरो ग्लोबल सर्टिफाइड रहेको छ । यती ब्राण्डका लेगगार्डको मूल्य १ हजार १०० देखिका २ हजार १०० रुपैयाँसम्ममा किन्न पाइन्छ ।



