काठमाडौं । बजारमा तरलताको अभाव रिकन्डिसन मोटरसाइकल बजारमा पनि परेको छ । उपत्यकामा खुलेका रिकन्डिसन हाउसमा पुराना मोटरसाइकल खचाखच भेट्न सकिन्छ ।
लगातार मोटरसाइकलको रिकन्डिसन बजार बढी रहेको थियो । तर, अचानक बजारमा रकम अभाव भएसँगै किन्ने ग्राहक पाउनै मुस्किल भएको व्यवसायीहरुको भनाई छ ।
शोरुममा मोटरसाइकलहरु थुप्रिएसँग रिकन्डिशन हाउसहरुले फाइनान्स सुविधासमेत उपलब्ध गराउन थालेको छन् । विभिन्न रिकन्डिशन हाउसले फाइनान्स कम्पनीहरुसँग सहकार्य गरेर फाइनान्स सेवा सुरु गरको बताए ।

‘हामीसँग अहिले प्रसस्त रिकन्डिशन मोटरसाइकलहरु उपलब्ध छन् । जाडो महिनामा सुस्त भएको रिकन्डिशन बजार अब गर्मी सिजन सुरु भएसँगै हाम्रो व्यापार हुने अपेक्षा गरिएको छ । त्यसैले सबै सेग्मेन्टका मोटरसाइकल विक्रीमा राखेका छौं’, काठमाडौंको नयाँ बस्तीमा रहेको मंगोलियन अटोका संचालक दावा शेर्पाले मेरोअटोसँग भने ।
उनकाअनुसार फाइनान्स सुविधा चाहिने ग्राहकलाई ध्यानमा राखेर विभिन्न फाइनान्स कम्पनीहरुसँगको सहकार्यमा कर्जा सुविधा पनि उपलब्ध रहेको छ ।

त्यस्तै मध्य बानेश्वरमा रिकन्डिसन हाउस संचालन गरिरहेका गणेश अधिकारी पनि अब सिजन सुरु हुने बताउँछन् । जाडो मौषममा खासै ब्यापार नभएका कारण धेरै मोटरसाइकल स्टकमा रहेको उनको भनाई छ ।
‘बजारमा धेरै मोटरसाइकल आएका छन्, अब रिकन्डिसनमा मोटरसाइकल र स्कुटर किन्नेले रोजेर पाउने अवस्था छ’, अधिकारीले भने ।
बालाजुमा एनबी रिकन्डिसन हाउस संचालन गर्दै आएका राजु शाक्यको बुझाई पनि यस्तै छ । उनका अनुसार गर्मी मौषममा मोटरसाइकलमो ब्यापार ह्वात्तै बढ्ने विगतबाट उनि यसपटक पनि आशावादी छन् ।

‘पछिल्ला दुई बर्षमा कोभिडका कारण रिकन्डिसन बजारमा रौनक छाएको थियो । अब कोभिड कम हुँदै गएका कारण पहिला जस्तो नभएपनि यो पटक पनि पक्कै रिकन्डिसन बजारमा रौनक आउँछ’, शाक्यले भने ।
बजारमा तरलता अभावको प्रभाव कस्तो पर्छ त्यो भनेहेर्न बाँकी नै रहेको छ ।

