काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र)को परीक्षामा भइरहेको ढिलाइ चाँडै अन्त्य गर्ने बताएका छन् ।
वाग्मती प्रदेशसभामा आइतबार सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले लाइसेन्स परीक्षामा अहिले भइरहेको ढिलाइ अन्त्य गर्दै छिटो छरितो सेवा पाउने वातावरण बनाउने बताएका हुन् ।
अहिले ट्रायल सेन्टरको अभावमा परीक्षा दिन महिनौं कुर्नुपर्ने अवस्था रहेकोभन्दै उनले त्यसलाई अन्त्य गर्न ट्रायल सेन्टरहरु थप्ने कार्यविधि पास गरिसकेको बताए ।
‘अहिले १५ लाख नागरिक लाइसेन्स पाउन लाइनमा छन् । तर, अहिलेकै पारामा अबको ३ वर्ष लाग्दा पनि उनीहरुले लाइसेन्स पाउन सक्दैनन् । त्यो खालको अफ्ठ्यारो स्थिति छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसैले छिटोभन्दा छिटो लाइसेन्स दिन ट्रायल सेन्टरहरु बढाउने गरी हामीले कार्यविधि पास गरिसकेका छौँ । आज फेल भएको मान्छेले भोलि नै ट्रायल दिन सकोस् भन्ने हिसाबले काम अघि बढाएका छौं ।’
यस्तै, उनले यातायात कार्यालयको सेवालाई सहज बनाउन विद्युतीय प्रणाली अपनाउने बताए । ‘ हामी यातायातको सेवा विद्युतीय बनाउने तयारीमा छौं, चाँडै नै त्यो कार्यविधि अनुसार काम गर्न इच्छुक कम्पनीहरु आउनेछन् । हामी क्यासलेस सिस्टममा लैजान सक्छौं,’ उनले भने ।


