एउटै इन्जिन भएका फरक ब्राण्डका ८ कार

काठमाडौं । गाडी उत्पादकहरुले उत्पादन लागत कम गर्न इन्जिनमा रिसर्च र डेभलपमेन्ट गर्न छाडेका छन् । दुई वा दुईभन्दा बढि कम्पनीहरुले आफ्ना फरक फरक ब्राण्डका लागि समान इन्जिन प्रयोग गर्न थालेका हुन् ।

विशेषत फरक कम्पनी र एउटै कम्पनी भित्रका सहायक ब्राण्डहरुले यस्ता इन्जिनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी एउटै इन्जिन फरक ब्राण्डमा प्रयोग गर्दा लागत समेत कम पर्ने देखिन्छ ।

हामीले यहाँ भारतमा बनेका र नेपालमा विक्री हुँदै आएका समान इन्जिन भएका ८ कारहरुको बारेमा चर्चा गरेका छौं ।

स्कोडा कुशक र फक्सवागेन टाइगुन

जर्मन कार उत्पादक फक्सवागन ग्रुपको स्वामित्वमा रहेको फक्सागन र स्कोडाले आफ्नो कम्प्याक्ट एसयूभी कुशक र टाइगुनमा समान १.० लिटर र १.५ लिटरको टीएसआई टर्बो पेट्रोल इन्जिन प्रयोग गरेको छ । नेपालमा भने १.० लिटरको तीन सिलिण्डर भएको टीएसआई टर्बो इन्जिनमा मात्रै दुबै कार उपलब्ध छन् ।

उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । इन्जिन मात्र होइन दुबै कारमा गियरबक्स समेत समान रहेको छ । कुशक र टाइगुनमा ६ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियर पाउन सकिन्छ ।

निसान म्याग्नाइट र रेनो काइगर

जापनीज अटोमोवाइल कम्पनी निसान र फ्रेन्च अटोमोवाइल कम्पनी विलकुल फरक क्षेत्रका अटोमोवाइल कम्पनी हुन् । यद्यपि, रेनो–मित्सुवीसी र निसानको अन्तर्राष्ट्रिय अलायन्सको कारण भारतमा पनि यी दुबै ब्राण्डले एउटै प्लान्टबाट आफ्ना आफ्ना ब्राण्ड नेममा गाडी उत्पादन गर्छन् ।

 

गत वर्ष भारतीय बजारमा लन्च भएको रेनोको काइगर र निसानको म्याग्नाइटमा पनि समान १.० लिटरको तीन सिलीण्डरको इन्जिन प्रयोग भएको छ । यी दुवै इन्जिनले समान ७१ बीएच पावर तथा ९६ एनएम टर्क जेनेरेट गर्छ । दुबै कारले ग्लोबल एनक्यापको सेफ्टी रेटीङमा समान ४ स्टारको रेटिङ समेत पाएका छन् । साथै, दुबैले १.० लिटर टर्बो इन्जिनमा पनि काइगर र म्याग्नाइटलाई बजारमा ल्याएका छन् ।

टाटा एच फाइभ र जीप कम्पास

समान इन्जिन भएका एसयूभीको अर्को उदाहरण अमेरिकी कम्पनी जीपले भारतमा बनाएको कम्पास र भारतीय कम्पनी टाटाले बनाएको एचफाइफको इन्जिन हो ।

दुबै मोडलमा समान २.० लिटरको टर्बो डिजेल इन्जिनको प्रयोग भएको छ । जसले १७० पीएस पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन भने फियाट कम्पनीले बनाएको हो । टाटा मोटर्सले यो इन्जिनमा सामान्य परिवर्तन गराएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस

हुन्डाई र किया कोरियाका एउटै कम्पनी अन्तर्गत पर्छ । हुन्डाईको क्रेटा र सेल्टोस दुबै कम्प्याक्ट एसयूभी हुन् । यी दुबै कम्पनीले समान १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन प्रयोग गरेका छन् । यी दुबैले समान गियरबक्स पनि प्रयोग गरेको पाइन्छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस नेपालमा सर्वाधिक रुचाइएका कम्प्याक्ट एसयूभी समेत हुनु् । यी दुबै इन्जिनको अधिकतम पावर ११५ पीएस रहेको छ ।


Back_to_top