काठमाडौं । फोर्सको नयाँ जेनेरेशन गुर्खा एसयूभी नेपालमा विक्री सुरु भएको छ । आयाम इन्टरनेशनलले नेपालमा विक्री सुरु गरेको गुर्खा ४ सिट क्षमताको अफरोड एसयूभी हो ।
झट्ट हेर्दा नै बल्की र लोभलाग्दो डिजाइनमा देखिने गुर्खामा मर्सिडिजले बनाएको २.६ लिटर क्षमताको इन्जिन दिइएको छ । फोर्स नयाँ गुर्खा मर्सिडिज बेन्जको जी क्लासबाट प्रभावित ‘बक्सी’ डिजाइनमा रहेको छ । मर्सिडिज जी–क्लास चाहने तर धेरै रकम खर्च गर्न नचाहनेको लागि फोर्स गुर्खा उत्कृष्ट छनोट बन्न सक्छ । यसको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
जुन साइजको इन्जिन छ त्यही अनुसारको पावर भने गाडीमा छैन । यसमा रहेको फोर सिलिण्डर इन्जिनले अधिकतम ९० बीएच पावर र २५० एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीडको म्यानुयल गियरबक्स रहेको छ ।
चालक सहित चार जनाले यात्रा गर्न मिल्ने यो अफरोड एसयूभीमा चारवटै क्याप्टेन सिट दिएको छ । साथै, सुरक्षाको लागि अगाडि दुई एयरव्याग, इबीडी सहितको एबीएस, रियर पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, टायर प्रेसर मोनिटर जस्ता फिचर दिइएको छ ।
फोरह्वील ड्राइभ सिस्टमसहित आउने गुर्खामा ‘लो–गियर क्रल मोड’समेत रहेको छ । यो एसयूभी अफरोड ड्राइभमा जाने पर्यटक र नेपालीको लागि उत्कृष्ट छनोट हुने छ । अफरोड ड्राइभिङलाई रोमान्चक बनाउन गुर्खामा ‘कोइल स्प्रीङ’सहितको ‘डबल विसवोन सस्पेन्सन’ दिइएको छ ।

गुर्खाको लम्बाई ४११६ एमएम, चौडाई १८१२ एमएम, उचाई २०७५ तथा २४०० एमएमको ह्वीलवेस दिइएको छ । यसमा ग्राउण्ड क्लियरेन्स भने २०५ एमएम छ ।
नयाँ जेनेरेशन फोर्स गुर्खा पहिलो जेनेरेशन मोडलभन्दा धेरै फरक रहेको छ । यो एसयूभीको अगाडिको बम्पर नयाँ डिजाइनको छ । बम्परको बीचमा रहेको ठूलो अक्षरको गुर्खाको लोगोले एसयूभीलाई स्पोर्टी र बोल्ड लुक्स प्रदान गरेको छ । अगाडि प्रयोग भएको एलइडी हेडल्याम्प, फगल्याम्प माथि रहेको एलइडी डिआरएलले गुर्खालार्ई ट्रेन्डी लुक्स दिएको छ ।
१६ इन्चको अलोय ह्वील र त्यसको ठिक माथि रहेको ह्वील आर्कको व्ल्याक क्लाडिङले स्पोर्टी देखाएको छ । यसमा रहेको फङ्सनल स्नोर्कलले ७०० एमएमसम्मको पानीमा समेत यात्रा गर्न सहज बनाउने कम्पनीको दावी छ । नयाँ गुर्खामा नयाँ टेललाइट तथा रुफमाउण्टेड लगेज क्यारी र त्यहाँ चढ्न भर्याङसमेत दिइएको छ ।

गुर्खाको क्यावीन भने अलव्ल्याक इन्टेरियर तथा क्याप्टेन सिटले गर्दा प्रिमियम देखिएको छ । गुर्खामा एन्ड्रोइड अटो तथा एप्पल कार प्ले सपोर्ट गर्ने ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । साथै, ड्राइभर इन्फर्मेसन डिस्प्ले पनि सेमी डिजिटल रहेको छ । यसमा नयाँ डिजाइनको थ्री स्पोक स्टेरिङ ह्वील प्रदान गरिएको छ ।
गुर्खामा पछाडि प्यासेन्जरका लागि ठूलो साइजको प्यानारोमीक फिक्स विण्डो रहेको छ भने अगाडिको विण्डो भने सुइजबाटै खोल्न र बन्द गर्न मिल्ने छ । नयाँ जेनेरेशन गुर्खामा ३ वटा ढोका रहेको छ ।

