जेडएस इभीको डाउन पेमेन्ट १० लाख, यस्तो छ मासिक किस्ता

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जेडएस इभीको फेसलिफ्ट नेपालमा सार्वजनिक गरेको भएपनि अहिलेसम्म विक्री सुरु गर्न सकेको छैन । कम्पनीले बुकिङ खुल्ला गरेको ३ दिनमा नै ५ सय यूनियभन्दा धेरै बुकिङ भएको कारण बुकिङ बन्द गरेको थियो ।

अहिलेसम्म पनि गाडी आयातको टुङ्गो नभएको भन्दै पारामाउन्ट मोटर्सले बुकिङकर्तालाई बुकिङ रकम फिर्ता लान चाहे लान सक्नु हुन्छ भन्दै सूचना पठाएको थियो । ग्राहकले कम्पनीको उक्त सूचनालाई मूल्य बढाउन खोजेको आशंका गरेका छन् । तर, कम्पनीले भने गाडी आउन अझै समय लाग्नेभन्दै तोकिएको समयमा दिन नसक्ने भएपछि सूचना दिएको जनाएको छ ।

नेपालमा सर्वाधिक सफल जेडएस इभी पहिलेभन्दा धेरै रेन्जमा उपलब्ध रहने भएपनि मूल्य भने धेरै बढेको थिएन । कम्पनीले स्टायडर्ड मोडलको मूल्य १ लाख रुपैयाँले बढाएर ५१ लाख ९९ हजार तोकेको थियो भने, लङ रेन्ज मोडलको मूल्य ५९ लाख ९९ हजार तोकेको थियो ।

अहिले बजारमा बैंकको ब्याजदर बढेको कारण कर्जा लिनेले ११ देखि १३ प्रतिशतसम्म ब्याजदर तिर्नु पर्ने अवस्था रहेको छ । यद्यपि विद्युतीय गाडीमा तुलनात्मकरुपमा सहजै कर्जा सुविधा पाउन सकिन्छ । साथै, ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर विद्युतीय गाडी खरिद गर्न सक्छन् ।

एमजी जेडएसको स्टायडर्ड भेरियन्ट खरिद गर्ने ग्राहकले ११ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि कर्जा लिने हो भने, कम्तीमा गाडीको मूल्यको २० प्रतिशतले हुन आउने १० लाख ३८ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । डाउन पेमेन्टपछि ४१ लाख ५९ हजार २०० रुपैयाँ कर्जा सुविधा लिने ग्राहकले मासिक ७१ हजार २१५ रुपैयाँ मासिक किस्ता तिर्नुपर्छ ।

त्यसैगरी लङ रेन्जको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट बापत बुझाउँदा ११ लाख ९९ हजार ८०० रुपैयाँ तिर्नु पर्छ । वाँकी ४७ लाख ९९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्छ । यसरी कर्जा लिँदा कम्तीमा मासिक ८२ हजार १७४ रुपैयाँ तिर्नु पर्छ ।

यस्तो छ फेसलिफ्ट जेडएस इभी

एमजीले नयाँ जेडएस इभीको ब्याट्रीमा व्यापक परिवर्तन गरेको छ । यसअघि ४४.५ किलोवाट आवरको ब्याट्री प्रयोग भएको जेडएसमा अब ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ ।

नयाँ आउन लागेको जेडएस इभी फेसलिफ्टमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन गरिएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्डमा पनि परिमार्जन गरेको छ ।

रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई-स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ ।

डब्लूएलटीपीको परिक्षणमा ५१ किलोवाट आवर क्षमताको ब्याट्रीले सिंगल चार्जमा ३ सय १९ किलोमिटर र ७२ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४ सय ४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।


Back_to_top