काठमाडौं । निसानको सर्वाधिक सफल सब फोर मिटर एसयूभी म्याग्नाइटलाई टक्कर दिन यूरोपियन ब्राण्ड सिट्रोनले नयाँ सब फोर मिटर क्रसओभर एसयूभी सि थ्री बजारमा उतार्ने भएको छ ।
फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गर्न लागेको कम्प्याक्ट क्रसओभर ‘सि थ्री’ अबको केही दिन भित्रै बजारमा आउन लागेको हो ।
विशेषत निसान म्याग्नाइट, रेनो काइगर र टाटा पन्चसँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको ‘सि थ्री’ फिचर लोडेड मोडल हुने अपेक्षा गरिएको छ । भारतमा यसको मूल्य निकै आक्रमक रहने चर्चा सुरु भएसँगै यसको नेपालमा कस्तो उपस्थिति रहला भन्ने बहस सुरु भएको छ ।
साँग्रिला मोटर्सले सिट्रोन ब्राण्ड नेपाल ल्याएको छ । पीएसए ग्रुप अन्तर्गतको ब्राण्ड भएकोले साँग्रिला मोटर्सले सिट्रोन नेपाल ल्याएको हो ।
पीएसए ग्रुपअन्तर्गतको प्यूजो यसअघि नै साँग्रिलाले नेपालमा विक्री गर्दै आएको थियो । अहिले नेपालमा सिट्रोन एयरक्रस ५ विक्री हुँदै आएको छ । निकट भविष्यमा नै भारतमा निर्मित सि थ्री मोडल नेपाल आउने छ ।
भारतमा ५.५ लाखदेखि ८ लाख भित्र आउने अनुमान गरिएको सि थ्री नेपालमा पनि २८ देखि ४० लाख भित्रै मूल्य रहनेगरी आउने अपेक्षा गर्न सकिन्छ । यद्यपि यही मूल्यमा आउँछ वा आउँदैन अहिल्यै भन्न सक्ने अवस्था छैन ।
निकै आकर्षक डिजाइनमा देखिएको सि थ्री उच्च ग्राउन्ड क्लियरेन्स, हाइ बोनेट, आरामदायी सिटिङ पोजिसन, स्प्लीट एलइडी हेडल्याम्प, डबल सटल ग्रिल, ब्ल्याक क्ल्याडिङ, ड्यूल टोन कलर अप्सन उपलब्ध रहने छ ।
कम्प्याक्ट क्रसओभर भएर पनि यसमा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फ्ल्याट बटम स्टेरिङ ह्वील, कम्प्लेक्स एयर भेन्ट आरामदायी सिट जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीले यसमा पावरफुल १.२ लिटर टर्बो इन्जिन दिन लागेको कुरा बाहिर आएको छ । यसअघि टाटाले नेक्सनलाई पनि १.२ लिटर टर्बो इन्जिनमा ल्याएको थियो । याथै, यसमा ५ स्पीड म्यानुयल र ७ स्पीड ड्यूलक्लच गियरबक्स रहने छ ।
सिट्रोनले सि थ्रीलाई सीएमपी मोडुलर प्लेटफर्ममा बनाएको हो । यही प्लेटफर्ममा पीजले पनि सब फोर मिटर एसयूभी बनाइरहेको छ । विशेषत विश्वका उदयीमान बजारलाई हेरेर बनाइएको सि थ्री दक्षिण एसिया र साउथ अफ्रिकामा विक्री गर्ने योजना कम्पनीले बनाएको छ ।
सिट्रोनले कम्बस्चनपछि यसलाई चाँडै नै इलेक्ट्रीक भर्सनमा पनि ल्याउने योजना अगाडि सारेको छ ।

