काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री सुरु गरेसँगै ग्राहकको अविश्वसनिय प्रतिक्रृया पाएको टाटा नेक्सन इभी किन्न चाहने धेरै छन् । सिप्रदीले जुन संख्यामा नेक्सन इभीको बुकिङ पाएको छ, त्यही मात्रामा सप्लाई भने हुन सकेको छैन ।
सन् २०१८ देखि निरन्तर नेपाली बजारमा उपलब्ध र सफलता चुमेको नेक्सनलाई नै कम्पनीले इलेक्ट्रीकमा ल्याएको हो । मूल्यको हिसावले टप स्पेक नेक्सन आइसी इन्जिनको तुलनामा १० लाख रुपैयाँभन्दा धेरै सस्तो भएको कारण पनि नेक्सन इभीको जेडएक्स प्लस लग्जरी भेरियन्ट किन्ने ग्राहक धेरै रहेका छन् । पेट्रोलबाट चल्ने नेक्सनको टप भेरियन्टको मूल्य ५१ लाख हारहारी पर्छ भने टप भेरियन्ट इलेक्ट्रीकको मूल्य ४१ लाख हाराहारी पर्छ ।
टाटाले जिप ट्रोन प्रविधिमा पहिलो पटक तयार गरेको नेक्सन इभी रेन्जको विषयमा धेरै विवाद भएको मोडल हो । एआरएआईले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको भएपनि यसले सडकमा दाबी गरेभन्दा करिब ३० प्रतिशत रेन्ज कम दिएपछि दिल्ली सरकारले यसलाई अनुदानको कोटाबाट समेत हटाएको थियो ।
नेपालमा पनि गत साउन १२ गतेबाट विक्री सुरु भएको नेक्सन इभीले २२० देखि २४० किलोमिटरसम्म रेन्ज दिएको प्रयोगकर्ताहरुको भनाई छ । नेक्सनको रेन्ज दावीभन्दा केही कम भएकै कारण सिप्रदीले इभी बेच्न सुरु गर्नुअघि नै ३० किलोवाट क्षमताको डिसी फस्ट चार्जर जडान सुरु गरेको थियो । अहिले कम्पनीले देशका मुख्य नाका र सहरहरुमा चार्जर जडान गरिसकेको छ । यसले रेन्ज कम भएपनि मानिसलाई विना हिचकिचावट नेक्सन इभी किन्न सहयोग गरेको देख्न सकिन्छ ।

सहरी क्षेत्रमा चलाउँदा हप्तामा दुई दिन चार्ज गर्दा पुग्ने
सहरी क्षेत्रमा गाडी चलाएर घरदेखि आफिस गर्ने र अफिसियल काममा उपत्यका भित्रै काम पर्ने मानिसलाई हप्तामा दुई दिन चार्जगर्दा पुग्ने देखिन्छ ।
उपत्यका वा सहरी क्षेत्रमा एउटा गाडी दैनिक औषत ५० देखि ६० किलोमिटरभन्दा बढी गुढ्दैन । त्यही भएर सुन्दा कम लागे पनि एक पटकको फुल चार्जमा २२० किलोमिटर रेन्ज आउने नेक्सन इभी धेरैको रोजाइमा परेको हो ।
टाटाले नेक्सन इभीको लङ रेन्ज मोडल पनि ल्याउने तयारी गरेको छ । सम्भवत अर्को महिनासम्म यसको लङ रेन्ज पनि बजारमा आउने छ । अहिले विक्री भइरहेको नेक्सन धेरै मानिसको रोजाइमा पर्नुको मुख्य कारण ग्राउन्ड क्लियरेन्स र फिचरलाई लिने गरिन्छ ।
सब फोर मिटर सेग्मेन्टमा आउने नेक्सन इभीमा २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।
फिचर लोडेड
टाटाले नेक्सन इभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता आकर्षक फिचर बाहिरबाट देख्न सकिनेगरी दिएको छ ।

त्यसैगरी नेक्सन भित्र लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सहितको ठूलो सेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
मूल्य र मासिक किस्ता
नेक्सन इभी अहिले तीन भेरियन्टमा उपलब्ध रहेको छ । एक्सएम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार, जेडएक्स प्लस भेरियन्टको मूल्य ३८ लाख ९९ हजार र जेडएक्स प्लस लग्जरी भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । टाटाले नेक्सन इभीमा ‘नो डिस्काउन्ट पोलिसी’ प्रयोग गरिरहेको छ ।
अहिले बजारमा अटोलोनको ब्याजदर एकदमै महंगो भएको छ । विद्युतीय गाडी भएकोले आइसी इन्जिनको तुलनामा सहज कर्जा भने यसमा उपलब्ध हुनेछ । अहिले बजारमा चल्तीको १२ प्रतिशत व्याजदर र ३० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर नेक्सन इभी किन्ने हो भने एक्सएम भेरियन्टको मासिक किस्ता ४५ हजार ७ सय हाराहारी पर्छ ।
त्यसैगरी एक्सजेड प्लसको मासिक किस्ता ४८ हजार २०० र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ५० हजार ६५० रुपैयाँ हारहारी पर्छ ।

