काठमाडौं । बेलायती ब्राण्ड एमजी (मोरिस ग्यारेज) को भारतीय प्लान्टबाट १ लाख यूनिट कार उत्पादन पुरा भएको छ । चिनियाँ एसएआइसी ग्रुपको स्वामित्वमा रहेको एमजीले स्थापनाको तीन वर्षमा १ लाख यूनिट विक्री पुरा गरेको हो ।
सन् २०१९ बाट मिडसाइज एसयूभी हेक्टर लिएर बजारमा आएको एमजीलाई पहिलो इन्टरनेट एसयूभी भनेर ग्राहकको राम्रो रेस्पोन्स दिए । अहिले एमजी हेक्टर नेपालमा पनि विक्री भइरहेको छ ।
एमजीले बजारको बढ्दो मागलाई मध्यनजर गरेर लेवल एक अटोनोमस प्रविधि भएको जेडएस इभी, ठूलो साइजको ग्लोस्टर र कम्प्याक्ट साइजको एस्टर पनि गत वर्षबाट विक्री सुरु गरेको थियो । एस्टरमा एमजीले लेबल २ को अटोनोमस प्रविधि सहित पर्सनल एआई असिस्ट समेत पाउन सकिन्छ । यो एसयूभी पनि चाँडै नेपाल आउने तयारीमा थिाये । तर, सरकारले आयात रोकेसँगै यसको आयात अनिश्चित भएको छ ।
गुजरातको हालोलमा रहेको एमजीको प्लान्टबाट वार्षिक उत्पादन क्षमता ८० हजार यूनिट रहेको छ । उक्त प्लान्टमा ३७ प्रतिशत महिला कामदार रहेका छन् भने आगामी वर्षको अन्त्यसम्ममा ५० प्रतिशत पूर्याउने कम्पनीले लक्ष्य लिएको छ ।


