काठमाडौं । युवाले पहिलो नजरमा नै कुनै पनि मोटरसाइकल मनपराउन विशेष डिजाइन हुन आवश्यक हुन्छ । हेर्दा स्पोर्टी र फरक डिजाइन, चढ्दा पावर र आरामदायी भएको खण्डमा कुनै पनि ब्राण्डले ल्याएको भए पनि ती मोटरसाइकल युवाको रोजाइमा पर्छ ।
जापानी ब्राण्ड यामाहाले सन् २०१९ को सुरूवातमा विक्री सुरू गरेको यामाहा एमटी १५ मोडल ‘प्रिमियम लाइफ स्टाइल’ मोटरसाइकलभन्दा फरक पर्दैन । तर, भारतमा उत्पादन भएकै कारण एमटी १५ मा धेरै फिचर कटौती गरिएको थियो ।
यामाहा विश्व बजारमा आकर्षक र फिचर लोडेड मोटरसाइकल उत्पादनको लागि प्रमुख मध्येको एक ब्राण्ड हो । सबै किसिमका ग्राहकलाई उत्कृष्ट मोटरसाइकल प्रदान गर्दै आएको यामाहाले एमटी सिरिज मार्फत युवाहरूको मन जित्न सफल हुँदै आएको छ । आकर्षक डिजाइनको साथमा रहेको उत्कृष्ट माइलेज प्रदान गर्ने इन्जिन यसको सबल पक्ष हो ।
भारतमा ‘भर्सन टु’ सार्वजनिक हुँदै गर्दा नेपालमा भने यामाहाको पहिलो भर्सन किन्ने ग्राहक भृकुटीमण्डपमा तँछाडमछाड गरिरहेका थिए । लामो समयदेखि नेपाल नआउँदा एकै पटक ५ सय यूनिट एमटी १५ नेपाल ल्याएर एमएडब्ल्यू इन्टरप्राइजेजले बुकिङ गरेर बसेका ग्राहकलाई हस्तान्तरण गरेको थियो ।
झट्ट हेर्दा उस्तै देखिए पनि पहिलेको तुलनामा भर्सन टूमा धेरै प्रिमियम फिचर दिइएको छ । कम्पनीले नयाँ भर्सनमा इन्जिन पनि ट्युनिङ गरेको छ । नयाँ भर्सनमा प्रयोग भएको इन्जिनले पहिलेकोभन्दा ०.१ पीएस कम पावर र ०.२ एनएम टर्क बढी जेनेरेट गर्ने छ ।
यामाहाले भारतमै पहिलो भर्सनको तुलनामा २.० भर्सनको मूल्य १३ हजार महंगो बनाएको छ । नयाँ भर्सनको मूल्य भारतमा १ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । नेपालमा अहिले पहिलो भर्सन नै विक्री भइरहेको छ । यसको मूल्य ४ लाख ७१ हजार ९०० रुपैयाँ कायम गरेर विक्री गरिरहेको छ । नयाँ भर्सन नेपाल आउने हो भने, त्यसको मूल्य ५ लाख ३० हजारदेखि ५ लाख ५० हजारसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

नयाँ भर्सन २.० सँगै एमटी १५ नेपालमा थप बलियो बन्ने ४ आधार यसरी व्याख्या गर्न सकिन्छ ।
१. स्टाइल : यामाहाले दुई नयाँ कलर अप्सन कायन स्ट्रोम र रेसिङ ब्लू दुई कलर अप्सनमा यसलाई सार्वजनिक गरेको छ । त्यसमा पनि रेसिङ ब्लू कलरले धेरैलाई आकर्षित गर्छ । यामाहा एमटी-०३ बाट पूर्णरूपमा प्रेरित रहेर तयार गरिएको कारण हेर्दा निकै आकर्षक देखिन्छ ।
२. मूल्य कन्ट्रोल गर्न सिंगल च्यानल एबीएस : यामाहाले जसरी आकर्षक डिजाइनमा एमटी १५ को भर्सन २.० तयार गरेको छ, त्यति नै मूल्यमा सचेत भएको देखिन्छ । कम्पनीले मूल्य कम राख्नकै लागि यसमा पनि सिंगल च्यानल एबीएसलाई निरन्तरता दिएको छ ।
३. इन्जिन : माथि नै उल्लेख गरे अनुसार यसको इन्जिनलाई केही परिमार्जन गरिएको छ । परिमार्जित इन्जिनमा केही पावर घटेको छ भने टर्क बढेको छ । यसले मोटरसाइकलको पर्फमेन्समा खासै फरक पर्दैन ।
४. नयाँ फिचर : यामाहाले भर्सन २.० एमटी १५ मा नयाँ गोल्डन कलरको यूएसडी फर्क दिएको छ । साथै, टेलिस्कोपिक फर्कलाई पनि निरन्तरता दिएको छ । पैसा धेरै तिर्नेले यूएसडी र केही कम तिर्नेले टेलीस्कोपिक फर्क छनोट गर्न सक्ने छन् । बाइकको राइडिङ पोस्चर, अपग्रेड गरिएको कनेक्ट फिचर यसमा पाउन सकिन्छ ।


