आइतबार सार्वजनिक हुँदै ‘नेटा भी’ इलेक्ट्रीक क्रसओभर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ल्याउन लागेको नेटा भी इलेक्ट्रीक क्रसओभर कार आगामी जेठ २२ गते आइतबार सार्वजनिक हुने भएको छ । कम्पनीले नेपाल ल्याएको होजन अटोले उत्पादन गरेको नेटा भीको बुकिङ पनि त्यहि दिनबाट खुल्ने कम्पनीले जनाएको छ ।

एक हप्ता अगाडि काठमाडौं आएको नेटा भीलाई कम्पनीले हाडिगाउँमा रहेको भाटभटेनी सुपर मार्केटमा राखेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘आइतबारबाट यसको बुकिङ खुल्ला हुन्छ । अहिले बुकिङ गर्ने ग्राहकले दुई महिना भित्रै आफ्नो गाडी पाउने छन्’, कम्पनी स्रोतले भन्यो ।

सिजी मोटरले सुरुमा परिक्षण गर्न भन्दै दुई यूनिट नेटा भी नेपाल ल्याएको थियो । अहिले यसको रोड वर्दिनेश टेष्ट भइरहेको छ ।

झट्ट हेर्दा नै आकर्षक डिजाइनमा देखिने नेटा भीको भित्री इन्टेरियर पनि उत्कृष्ट रहेको छ । यसमा दिइएको फ्रन्ट फेसिका र भर्टिकल इन्फोटेन्मेन्ट सिस्टमले टेस्लाको झल्को दिन्छ । स्पोर्टस् कारबाट प्रेरित टु स्पोक स्टेरिङ ह्वील, सार्प ड्यासबोर्ड र पियु लेदर सिट यसको बलियो पक्ष हो ।

नेपाल आएको नेटा भीमा ३८ किलोवाट आवरको क्याटलले उत्पादन गरेको ब्याट्री रहेको छ भने ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । १०० किलोवाट भन्दा कम क्षमताको मोटर जडान भएको कारण यसमा बजेटको कारण कर पनि बढ्ने छैन । कम्पनीले यसमा ६.६ किलोवाट क्षमताको चार्जर गाडीसँग दिने जनाएको छ ।

अहिले करिब ३८ लाख मूल्य पर्ने बताइएको नेटा भीको आधिकारीक मूल्य पनि जेठ २२ गते आइतबार नै सार्वजनिक हुनेछ ।


Back_to_top