बजेटकै कारण नेपालमा विक्री गुमाउन सक्ने ६ कार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि संसदमा जेठ १५ गते प्रस्तुत गरेको बजेटले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कारमा भन्सार र अन्तःशुल्क बढाएसँगै त्यो सेग्मेन्टमा नेपाल आउने र आउने क्रममा रहेका गाडीले विक्री गुमाउने भएका छन् ।

सरकारले १०१ देखि २०० किलोवाट क्षमताको पीकपावर भएको गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क तोकेको कारण बजारमा चल्तीका ६ मोडलले आफ्नो बजार गुमाउने देखिएको हो । यसअघि यो सेग्मेन्टमा १५ प्रतिशत भन्सार मात्रै लगाइएको थियो ।

बजारमा विक्री हुँदै आएको एमजी जेडएस इभी र हुन्डाई आयोनीक ५ निकै सफल मोडल मानिन्छन् । यसअघि कियाले नेपाल ल्याएको निरो इभी पनि निकै सफल रहेको थियो । २०० किलोवाटभन्दा कम क्षमताको मोटर भएका बीवाइडी एटो थ्री र किया इभी ६ पनि चाँडै नेपाल आउने तयारीमा थिए यी सबै मोडलको विक्री अब निकै घट्ने देखिएको छ । यही मारमा निसानको लिफ इभी पनि पर्नेछ ।

यी गाडीमा कत्रा छन् मोटर

अहिले विक्री भइरहेको एमजी जेडएस इभीमा १३० र ११५ किलोवाट क्षमताको मोटर रहेको छ । विभिन्न दुई भेरियन्टमा विक्री हुने जेडएस इभीको स्टायडर्ड भेरियन्टमा १३० र लङ रेन्जमा ११५ किलोवाट क्षमताको मोटर रहेको छ ।

निसानले विक्री गर्दै आएको लिफ इलेक्ट्रीकमा ११० किलोवाट क्षमताको मोटर जडान भएको कार हो । त्यसैगरी, किया निरोमा १५० किलोवाट, बीवाइडी एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर दिइएको छ । कियाले नेपाल ल्याउने क्रममा रहेको इभी ६ मा १६८ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ भने हुन्डाईको आयोनीक–५ मा १२५ किलोवाट क्षमताको मोटर रहेको छ ।

कति बढ्ला मूल्य ?

अहिले बजारमा रहेका र आउने क्रममा रहेका इभीमा २० लाखदेखि ३५ लाखसम्म मूल्य बढ्ने व्यवसायीहरुले बताएका छन् । विद्युतीय गाडीको किनेर ल्याउने मूल्य धेरै भएको कारण कर थारै बढ्दा पनि धेरै मूल्य बढ्ने देखिन्छ ।


Back_to_top