काठमाडौं । बजाज अटोले इलेक्ट्रीक स्कुटर चेतक उत्पादनको लागि भारतमा नयाँ प्लान्ट स्थापना गरेको छ । कम्पनीले जुन १० बाट नयाँ प्लान्ट संचालनमा ल्याएको हो ।
बजाज अटो अन्तर्गतको चेतक टेक्नोलोजीले भारतको अर्कुडी पुनेमा नयाँ प्लान्ट स्थापना गरेर चेतक इलेक्ट्रीकको उत्पादन सुरु गरेको हो । सन् १९७० मा कम्पनीले पुनेको अकुर्डीमा नै रहेको प्लान्टबाट चेतक स्कुटरको उत्पादन सुरु गरेको थियो ।
कम्पनीले हालसम्म चेतक इलेक्ट्रीक स्कुटर १४ हजार यूनिट उत्पादन गरेर बजारमा विक्री गरेको छ । अहिले पनि भारतका विभिन्न सहरबाट चेतक बुकिङ गरेर बस्ने १६ हजार ग्राहक रहेको कम्पनीले जनाएको छ ।
बजाजले नयाँ प्लान्ट स्थापना गर्न ७ अर्व ५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ । सुरुमा केही कम नै उत्पादन भएपनि यसको क्षमता विस्तार गर्दै वार्षिक ५ लाख यूनिट पुर्याउने कम्पनीले लक्ष्य लिएको छ ।
आगामी दिनमा कम्पनीले अन्य इलेक्ट्रीक सवारी साधनसमेत यही प्लान्टमा उत्पादन गर्ने जनाएको छ । यो प्लान्ट ५ लाख वर्ग फिटमा फैलिएको छ भने यसमा ११ हजार जनाले रोजगारी प्राप्त गर्न सक्नेछन् ।
नेपाल सरकारले पनि विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने कम्पनीलाई भन्सार सहुलियत दिने घोषणा गरेको छ । यसले बजाजको नयाँ इलेक्ट्रीक स्कुटर चाँडै नेपालमा नै एसेम्बल हुन सक्ने देखिएको छ । अहिले पनि बजाज अटो क्राफ्टले बजाजका मोटरसाइकल नेपालमा नै एसेम्बल गर्दै आएको छ ।

