काठमाडौं । सन् २०२० मा भएको भारत चीन युद्धको असर ब्यापारमा पनि परेको छ । गलवान घाँटीमा भारतीय र चिनियाँ सेना बीच भएको झडपपछि भारतमा वाइकट चाइना क्याम्पेन नै चलेको थियो ।
त्यति बेला नै चिनियाँ कम्पनीलाई भारतमा लगानी गर्न निषेध गरिएको थियो । भारत सरकारको अनुमती कुरेर बसेको चीनको ८ औं ठूलो अटोमोवाइल कम्पनी ग्रेटवाल मोटर्सको भारत यात्रामा पूर्ण बिराम लाग्ने भएको हो ।
ग्रेटवाल मोटर्सले भारतमा जनरल मोटर्सको प्लान्ट किन्ने संझौता गरेको भएपनि सरकारी निर्णयले यो डिल रद्ध हुने भएको हो । अमेरिकी कम्पनी जनरल मोटर्सले आफ्नो प्लान्ट ग्रेटवाललाई बेच्ने आफ्नो योजना फिर्ता लिएसँगै ग्रेटवालको भारतमा गाडी उत्पादन गर्ने योजना फेल भएको हो ।
ग्रेटवाल मोटर्सले सन् २०२० मै जीएमको प्लान्ट संचालन गर्न १ बिलियन डलर लगानी गर्ने सम्झौता गरेको थियो । ग्रेटवालले सन् २०२० को दिल्ली अटो शोमै आफ्नो दरिलो उपस्थिति देखाएको थियो । भारतमा चाँडै ग्रेटवालले उत्पादन सुरु गर्ने योजना बनाएसँगै नेपालमा एजेन्सी लिन धेरै कम्पनी बीच हानथाप भएको थियो ।
जीएम र ग्रेटवालको सम्झौता अनुसार २०२२ को जूनसम्ममा सबै कारोवार टुङ्गीसक्नु पर्ने थियो तर, भारत सरकारले स्विकृति नदिएपछि ग्रेटवाल मोटर्सलाई आफ्नो प्लान्ट विक्री गर्ने जनरल मोटर्सको योजनामा पूर्ण बिराम लागेको हो । अब जीएमले आफ्नो प्लान्टका लागि नयाँ ग्राहक खोज्ने जनाएको छ ।
जीएमले सन् २०१७ मै आफ्नो उत्पादन भारतमा बन्द गरेको थियो । उसको एक प्लान्ट भने चाइनाकै अर्को कम्पनील एसएआईसी ग्रुप अन्तर्गतको एमजी मोटर्सले खरिद गरेको थियो । उक्त प्लान्टबाट एमजीका कारहरु उत्पादन हुँदै आएका छन् ।


