काठमाडौं । एमजी (मोरिस ग्यारेज) ईभीको कारण नेपालमा चर्चित ब्राण्ड हो । सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध एमजीले पछिल्ला दिनमा चीन र भारतमा उत्पादन भएका गाडी नेपालमा विक्री गर्दै आएको छ ।
एमजीले भारतमा उत्पादन गरेको हेक्टर एसयूभी र चीनमा उत्पादन भएको जेडएस र एचएस जस्ता मोडल विक्री गर्दै आएको छ । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले नयाँ कम्प्याक्ट एसयूभी एस्टर नेपाल ल्याउन लागेको हो । कम्पनीले आगामी भदौ ७ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२२ मा यसलाई सार्वजनिक गर्ने तयारी थालेको छ ।
सुरुवातदेखि नै निकै चर्चित रहेको एस्टरले किया सेल्टोस, हुन्डाई क्रेटा, निसान किक्स, फक्सवागेन टाइगुन र स्कोडा कुशकसँग भारतमा प्रतिस्पर्धा गर्दै आएको छ । दुई इन्जिन अप्सन १.५ लिटर नेचुरल्ली एस्पीरेटेड र १.३ लिटर टर्बो इन्जिन प्रयोग भएको एस्टर म्यानुयल र सिभीटी गियरबक्समा उपलब्ध रहेको छ । टर्बो इन्जिनमा भने अटोमेटीक गियरबक्स मात्र पाउन सकिन्छ ।
मूल्यको हिसावले अन्य कम्प्याक्ट एसयूभी जस्तै रहेको एस्टर भारतमा १० लाखदेखि १८ लाख भारतीय रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । आर्टिफिसीयल इन्टेलेजेन्ट एआईको प्रयोग भएको एस्टरमा एडप्टीभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट असिस्टेन्स, लेन किप र डिपार्ट असिस्ट जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।
यसमा प्रयोग भएको ब्लुटुथमा आधारित कनेक्टेड कार टेक्नलोजीको सहायताले यो कारलाई चावी बिना नै मोवाइलबाटै लक÷अनलक गर्ने तथा स्टार्ट समेत गर्न सकिन्छ । साथै, कनेक्टेड कार फङ्सन प्रयोग गर्न मोवाइल नेटवर्कको समेत जरुरत पर्दैन ।
एस्टरको क्याविनमा ‘सफ्टटच’ मेटेरियलको प्रयोग गरिएको छ भने १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसको बाहिरी बनोट पनि निकै आकर्षक रहेको छ । ६ कुना भएको युनिक डिजाइनको ग्रिल, बीचमा ठूलो एमजीको लोगो र ठ्याक्कै मुनी फ्रन्ट क्यामरा दिइएको छ ।
अझ ग्रिलको तलपट्टी अटोनोमस ब्रेकिङका लागि रडार दिइएको छ । दुबै साइडमा प्रोजेक्टर हेडल्याम्प तथा माथिपट्टी एलइडी डिआरएल र तल बम्परमा फगल्याम्प पाउन सकिन्छ । कारमा १७ इन्चको डिउलटोन अलोय ह्वील, रियरमा दिइएको एक्जस्ट र स्कीड प्लेटको कम्बिनेसन आकर्षक देखिएको छ । बुट खोल्नका लागि पछाडि दिइएको एमजीको लोगोलाई थिच्नु पर्छ ।

